प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियारको टोलीले छापा मारेको छ ।आयोगको कार्यालय काठमाडौं र बर्दिबासको संयुक्त टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको हो । ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको विषयमा उजुरी परेको थियो ।टोलीले साइकल खरिद र वितरणसम्बन्धी कागजात नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।
आयोगको कार्यालय काठमाडौं र बर्दिबासस्थित अख्तियार कार्यालयबाट गएको टोलीले मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेर फर्किएको हो। अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बर्दिबास कार्यालयकै टोलीले मुख्यमन्त्री कार्यालयमा सामान खरिदसम्बन्धी फाइल नियन्त्रणमा लिएको बताए। उनले ती फाइललाई केन्द्रमा ल्याएर अनुसन्धान गरिने बताएका छन्। प्रदेश २ सरकारले छोरीहरूलाई विद्यालय पठाउने अभियान चलाउन भन्दै ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम चलाइरहेको छ। त्यस कार्यक्रमबाट बालिकाहरूलाई वितरण गर्न टेण्डर नै नगरी साइकल किनिएको थियो। साइकल खरिद र वितरणका क्रममा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको हो। अख्तियारको केन्द्रीय कार्यालयबाट पुगेको टोलीले बर्दिबासस्थित कार्यालयको समन्वयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो। प्रदेश २ सरकारले २०७५ मंसिरदेखि ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान थालेको हो। त्यस अभियानका नाममा सुरुबाटै करोडौँ भ्रष्टाचार भइरहेको उजुरी अख्तियारमा परेको थियो। अख्तियारले पनि सुरुवाती छानबिनमा हिनामिना भएको भेटिएको जनाएको छ। गत चैतमा वीरगन्जको ओम सत्यसाई प्रालि मार्फत खरिद गरिएको १७ हजार २६२ साइकलमा बिना उत्पादक कम्पनीको नाम, मोडल र ब्रान्डको खरिद प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियारले बुधवार छापा मारेको हो।
तपाईको प्रतिक्रिया !