एक्लो भएको मौका छोपेर सामुहिक बलात्कारको सिकारमा परे प्रतिकार गर्न अभ्यास गर्दै छात्रा ।
बालविवाह निषेधीकरण पीरयोजना अन्तरगत लाइफ नेपालल ले विद्यालयमा पढ्ने छात्राहरुलाई आत्मरक्षा सम्बन्धी तालिम दिने अभियान सुरु गरेको छ । दिनदिनै बढिरहेको बलात्कार तथा महिला हिंसा सम्बन्धी घटनालाई निरुत्साहित गर्न यो अभियान सुरु गरिएको हो । धनुषाको दशओटा पालिकाका स्थानीय विद्यालयमा अध्ययनरत करिब तिन सय जना किसोरीहरु लाई आत्मरक्षा तालिम दिइएको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले बताए । एक्लो महिलालार्ई सामुहिक बलात्कार गर्ने घटना सम्बन्धी समाचार दिनहुँ सार्वजनिक हुन थालेपछि हरेक छात्रालाई आत्मरक्षा सम्बन्धी तालिम आवश्यक देखिएको उनले बताए । तालिममा सहभागी मिथिला विहारी नगरपालिका वडा नं.आठकी लक्ष्मि कुमारी महतोले दुव्र्यसनीमा फँसेका युवाहरुले छात्रा तथा निर्बल महिला असुरक्षित भइरहेको बताइन् ।
‘हामी महिलाहरु कतै सुरक्षित छैनौं’ स्थानीय श्री सार्वजनिक नमुना मा.वि. विद्यालयमा ९ कक्षामा अध्ययनरत रचना सिंहले भनिन्, ‘आफ्नै घरमा कतै बाबु त कतै दाई वा आफन्तहरुबाटै बलात्कृत भएको समाचार पनि आउन थालिसक्यो । अब त्यसै चुप बसेर हुँदैन । प्रतिकारमा उत्रिन आवश्यक सीपसहितको तालिम लिन थालेका छौं । हरेक छात्राले यस्तो तालिम लिनुपर्छ ।’ सोही विद्यालयकी विनिता कुमारी यादवलेआफ्नै आमा र बहिनीको इज्जत लिने प्रवृतिका युवाहरुलाई तह लगाउन यो तालिम उपयुक्त माध्यम भएको बताइन् ।
मार्शल आर्ट सम्बन्धी सीपयुक्त यो तालिमले धेरै हदसम्म आइपरेको बेला एक्लै भएपनि प्रतिकार गर्न सक्ने योग्यता प्राप्त हुने श्री सार्वजनिक नमुना मा.वि.का प्र.विश्वनाथ महतोले बताए । मार्शल आर्ट सम्बन्धी सीपले हिंसामा उत्रेका उदण्डहरुलाई तह लगाउन एक्लै महिला पनि सक्षम हुन सक्छन् । सोही विद्यालयमा दश कक्षा पढ्न निभा कुमारी आफुले सिकेको आत्मरक्षा सम्बन्धी सीपले जीवन भर स्वतन्त्रता पुर्वक जीउन सक्ने कला प्राप्त भएको बताइन् । यो तालिम विपन्न र दलित महिला र किशोरीहरुलाई पनि आवश्यक रहेको उल्लेख गर्दै उनले भनिन्, ‘महिला भएकै कारण अपराधी युवा र पुरुषको सिकार भइरहनु पर्दैन । महिलाले पनि तिनीहरुलाई तह लगाउन सक्छन् भन्ने सन्देश दिन यो प्रशिक्षण सर्वव्यापी हुनुपर्ने आवश्यक्ता खट्किएको छ ।’ आत्मरक्षा सम्बन्धी तालिममा तिन सय भन्दा बढी छात्रा सहभागी छन् ।
तपाईको प्रतिक्रिया !