प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आइतबार देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधना सहित विवाह गरिदिएर मनाइएको छ।
त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आइतबार देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाइएको हो। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक गरिएको छ।
गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।
त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे। शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो।
रामायण अनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहने गरेको विश्वास गरिन्छ। सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी भए।
महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृति अनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न गरिएको छ।
यस अवसरमा श्री सीताराम मन्दिर तथा रामघाट क्षेत्र विकास गैडाकोट-६, शिवनगर, नवलपुर समितिद्वारा आयोजित श्री सीताराम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी श्रीराम भगवनतर्फको बरियात नौमती बाजा र भजनकीर्तन सहित प्रस्थान भइ वधुपक्ष श्रीमहादेव मन्दिर पुगेर श्री सीतारामको वैवाहिक उत्सव मनाइएको छ। राम मन्दिरलगायत देशभरका राम मन्दिरमा पनि पूजा आराधना गर्ने भक्तजनको भीड लागेको थियो।
तपाईको प्रतिक्रिया !