जनकपुरधाम,चैत ३ गते । विश्वकै सबैभन्दा लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिलाको महाकुम्भ मिथिला माध्यमिकी परिक्रमा आज चौथो दिन मटिहानी आइपुगेको छ । भारतको गिरिजा स्थानबाट एकाविहान परिक्रमा आज मटिहानी पुगेको हो । गत शनिबारबाट धनुषाको
ठेराकचुरीदेखि यात्रा सुरु गरेको माध्यमिकी परिक्रमाका यात्रीले क्रमशः धनुषाको हनुमानगढी, भारतको मधुवनी जिल्लामा पर्ने कल्याणेश्वर र गिरिजास्थानमा पहिलो, दोस्रो र तेस्रो दिनको रात्रि विश्राम गरिसकेका छन् । गिरिजास्थानबाट सीमावर्ती भारतीय बजार मधवापुर हुँदै दशगजा (नेपाल–भारत सीमा) कटेर नेपालको महोत्तरी जिल्लाको मटिहानी प्रवेश गरेका यात्रीलाई मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल, महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, महोत्तरी उद्योग वाणिज्य संघका पदाधिकारी र मटिहानीवासीले स्वागत गरेका छन् ।
मटिहानीमा परिक्रमावासीका लागि सड़क ,बत्ती, खानेपनीलगायत निःशुल्क स्वास्थ्य शिविरको व्यवस्थापन गरिएको छ । परिक्रमामा नेपाल र भारतका विभिन्न स्थानका हजारौं साधुसन्त एवं श्रद्धालुहरुको सहभागिता रहेको छ । जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी अर्थात् भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला माध्यमिकी परिक्रमा विधिवत रुपमा सुरु भएको थियो । परिक्रमामा सहभागीहरु क्रमशः मटिहानी हुँदै जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णीमाका दिन जनकपुरधाम फर्कने छ ।
तपाईको प्रतिक्रिया !