धनुषा-सोनिगामा आयुर्वेद औषधालयमा मनाइएको योग दिवस कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रामज्ञान मण्डलले मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयोगी मानिने योग गर्न आह्वान गरे । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुने गरेको स्मरण गर्दै नगर प्रमुख मण्डलले व्यस्त जीवनमा पनि योग गर्ने समय निकाल्नुपर्ने धारणा राखे । शारिरिक रुपमा स्वस्थ भए मात्र लक्ष्य प्राप्त गर्न सकिने भएकोले यसको लागि योगाभ्यास आवश्यक रहेको उनले बताए ।
सो अवसरमा नगर उपप्रमुख रेणु झा, प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमपछि विभिन्न जातका जडिबुटीको विरुवा समेत रोपिएको थियो । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।
सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए ।
राष्ट्रसङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो ।
योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ । यसको अभ्यासले मनका कारण शरीरमा लाग्ने रोगबाट बच्न सकिन्छ ।
तपाईको प्रतिक्रिया !