मिथिलाको महाकुम्भ मानिएको मध्यमा परिक्रमा आजदेखि शुभारम्भ भएको छ ।
पन्ध्रदिने उक्त परिक्रमा मेला फागुन प्रतिपदामा शुरू भई पूर्णिमाका दिन सम्पन्न हुन्छ । धनुषाको कचुरी मठबाट मिथिला बिहारी भगवान रामचन्द्र र प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकीको डोलाले परिक्रमाको नेतृत्व गरेको छ ।
एक सय ३३ किलोमिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुको सहभागिता रहने गरेको छ । धार्मिक झाँकी, भजनकीर्तनसहित परिक्रमाको डोला जनकपुरधामको हनुमाननगरको लागि प्रस्थान गरेको छ । आज राति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालु भोली बिहान पूजापाठ गरी भारतको विहार राज्यस्थित कल्याणेश्वरका लागि प्रस्थान गर्नेछन् ।
नेपाल–भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको नेपालको धनुषा र महोत्तरीका १३ तथा भारतका दुई गरी १५ विश्रामस्थल छन् ।
मिथिला महात्म्यअनुसार १८आँै शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो । यस यात्राका सहयात्रीले नेपालको १०७ एवं भारतको २६ गरी १३३ किलोमिटर भूमिका पैदलयात्रा तय गर्ने परम्परा रहेको छ ।
परिक्रमाको डोला मिथिला बिहारी नगरपालिकाको वडा नं. ८ स्थित कचुरी मठबाट उठेपछि विधिवत रुपमा १५ दिवसीय परिक्रको शुभारम्भ हुने गरेको मिथिला बिहारी नगरपालिकाका मेयर प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा स्थापना भएका चार शिवालय कलानेश्वर जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ । परिक्रमामा धनुषा, महोत्तरी, सिरहा, सर्लाही र भारत बिहार राज्यको विभिन्न स्थानबाट हजारौको संख्यामा श्रद्धालुभक्तजनहरुको सहभागीता रहने गरेको छ ।
तपाईको प्रतिक्रिया !