जनकपुरधाम, फागुन ३ प्रदेश २ को सरकार गठन भएको ३ वर्ष पूरा भएको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले ९३ बुँदे उपलब्धि प्रस्तुत गरेका छन् ।आफ्नो नेतृत्वमा रहेको प्रदेश सरकारले तीन वर्षको अवधिमा गरेका कामहरुको फेहरिस्त मुख्यमन्त्री राउतले सोमबार एक कार्यक्रमबीच सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री राउतले ११ वटा शीर्षकमा ९३ बुँदे उपलब्धि सार्वजनिक गरेका छन् । सो क्रममा उनले संघीय सरकारविरुद्ध ६ वटा मुद्दा दायर गरिएको विषयलाई पनि प्राथमिकताका साथ समेटेका छन् । संघीयता कार्यन्वयनमा समेत प्रदेश २ सरकारले नेतृत्वदायी भूमिका खेलिरहेको चर्चा गर्दै उनले संविधानले प्रदान गरेको प्रदेशको अधिकारलाई संस्थागत गर्दै प्रदेशको समग्र विकासका लागि सागरनाथ वन, सिंचाई, प्रहरी समायोजन, कर्मचारी समायोजन लगायतका ६ वटा विषयमा संघीय सरकारको विरुद्धमा प्रदेश सरकारले मुद्दा दायर गरेको प्रस्ट पारे । उनले यो अवधिमा प्रदेश सरकारबाट ‘बेटी पढाउ बेटी बचाउ अभियान’ सञ्चालन भएको, एक सहिद परिवार, एक रोजगारी, मुख्यमन्त्री स्वच्छता अभियान, प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण लगायतका काम भएको बताए । बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत प्रदेशमा ६ हजार ९ सय ६ छोरीको बिमा, २६ हजार ९ सय ५६ छोरीको तथ्यांक संकलन, २ सय ४१ सामुदायिक विद्यालयमा १४ हजार साइकल वितरण, २८ छात्रालाई छात्रावृत्ति, १ सय ५ महिलालाई लोकसेवा तयारी कक्षाको सुविधा उपलब्ध गराइएको पनि उनले उल्लेख गरेका छन् । तीन वर्षको अनुभव र सिकाईको आधारमा आगामी दिनमा समेत आम नागरिकको भावना बमोजिम प्रभावकारी सेवा प्रवाह गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री राउतले बताए ।
तपाईको प्रतिक्रिया !