काठमाडौं माघ २७ प्रतिनिधिसभा विघटन गरेर घोषणा गरेको मध्यावधि निर्वाचनको तयारीबारे जानकारी लिन भन्दै प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बहादुर भवन पुगे । त्यहाँ निर्वाचन आयोगका पदाधिकारीले अहिलेसम्म भएको तयारीबारे ब्रिफिङ मात्र गरेनन्, बजेट र बन्दोबस्तीका सामान लगायतको आवश्यकताबारे पनि जानकारी गराए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले निर्वाचन तयारीको काम निरन्तर अगाडि बढाउन आग्रह गरेका छन् । के प्रधानमन्त्री ओली आफैं निर्वाचन आयोगमा पुग्नु निर्वाचनको तयारी बुझ्नु मात्र हो ? नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिता विवादबारे कुरा भएन ? किनकी प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेलका साथै सुवासचन्द्र नेम्वाङ पनि आयोग पुगेका थिए । यी नेताहरुलाई ओली समूहले पार्टीको आधिकारिता विवादको सबै टुंगो लगाउने जिम्मेवारी दिएको छ । आयोगमा विचाराधीन रहेको आधिकारिकता विवादतर्फ इंगित गर्दै उनले सूर्यबाहेक अरू कुनै चिह्नबाट आफूले निर्वाचन नलडेको बताए ।
प्रधानमन्त्री र आयोगका पदाधिकारीहरुबीच भएको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री आयोगमा जानुको उद्देश्य पार्टीको आधिकारिकताको विषयमा छलफल गर्नु नभएको दाबी गरे ।
तपाईको प्रतिक्रिया !