काठमाडौं- निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता सुरु गरेको छ ।
आजमात्र आयोगमा पाँच वटा राजनीतिक दलले आशन्न प्रतिनिधि सभा प्रदेश सभा प्रयोगजनका लागि दल दर्ता गराएको आयोगले जनाएको छ ।
आयोगका अनुसार जनमत पार्टी नेपाल, समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी र मौलिक जरोकिलो पार्टीले आशन्न निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका छन् ।
गत साउन १९ गते सम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई संविधानको धारा २७१ बमोजिम निर्वाचन आयोगको कार्यालयमा आवश्यक कागजात सहित दल दर्ताका लागि निवेदन दिन सक्ने आयोगले जनाएको छ ।
दलदर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ ।
दलदर्ताको लागि निवेदन दिंदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रुपमा ७ वटा प्रदेशको लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्ने आयोगले जनाएको छ ।
आयोगले दल दर्ताका लागि आजदेखि २०७९ साल श्रावण ३१ गते सम्मको समय दिएको छ ।
तपाईको प्रतिक्रिया !