कोरोना संक्रमणको जोखिम बढ्दै गए पनि स्वास्थ्य सावधानी विनै सार्वजनिक सवारीसाधन निर्बाध सञ्चालनमा भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गरेको छ ।
बिहीबार काठमाडौंको बिभिन्न चोक चोकमा पुगेर अनुगमन टोलीले सार्वजनिक सवारीसाधनमा स्वास्थ्य सावधानी अपनाएको वा नअपनाएको बारे अनुगमन गरेको हो ।
अनुगमनका क्रममा मास्क प्रयोग नगर्ने र गाडीमा स्यानिटाइजर नभएको पाइएकाले चेतावनी दिइएको जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत राम बहादुर सार्कीले बताउनुभयो । उहाले कोरोना संक्रमण रोकथामका लागि काठमाडौंमा सार्वजनिक सवारीसाधान सञ्चालन तथा यात्रामा नयाँ नियम लागु गरिएको र उक्त नियम सवैले पालना गर्नुपर्ने बताउनुभयो । अवका दिनमा सार्वजनिक यातायातले सरकारको नियम पालना नगरे कारवाही गर्ने उहाले बताउनुभयो ।
प्रशासन कार्यालयले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गराउने, सवारीसाधनको ढोकामा र भित्र सेनिटाइजर व्यवस्था गर्ने लगाएतका नियम लागू गरेको छ । अनुगमनको टोलीमा ट्राफिक महाशाखा र यातायात व्यवसायीको पनि प्रतिनिधित्व रहेको थियो ।
तपाईको प्रतिक्रिया !