, काठमाडौं माघ २५ । बैतडीको दोगडाकेदार–७ मा १७ वर्षीया भागरथी भट्टको हत्या भएको विषयमा प्रहरी अनुसन्धान उनको मोबाइलमा केन्द्रित भएको छ । शव भेटिएको स्थानबाट २० मिटर अगाडि मोबाइल भेटिएसँगै त्यसको प्राविधिक विश्लेषणमा प्रहरी जुटेको छ । र, मोबाइलबाट महत्वपूर्ण सुराक हात पर्ने प्रहरीले अपेक्षा गरेको छ । जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी निरीक्षक जनक धामीका अनुसार मोबाइलको प्राविधिक विश्लेषणको काम केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट गएको टोलीले गरिरहेको छ । ब्युरोले नै कल डिटेल रेकर्ड (सीडीआर), बीटीएस लगायतका प्राविधिक पक्षको विश्लेषण गर्नेछ । रगताम्ये यौनांग र शरीरको विभिन्न ठाउँमा चोटपटक भएको अवस्थामा बिहीबार भट्टको शव सडक नजिकैको जंगलमा भेटिएको थियो । लगत्तै प्रहरी प्रधान कार्यालय, नक्सालले सीआईबीलाई टोली खटाउन निर्देशन दिएको थियो । त्यसपछि निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा खटिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखु नेतृत्वको टोलीलाई बैतडी पठाइएको हो ।अनुसन्धानमा खटिएका अधिकृतहरुका अनुसार मोबाइलबाट केही विषयहरु डिलिट भएको हुनसक्ने भएकाले प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पठाउने तयारी गरिएको छ । मोबाइलबाट गरिएको अनुसन्धानकै आधारमा प्रहरीले घटनामा चिनजानकै व्यक्ति संलग्न हुनसक्ने आशंका गरेको छ ।
तपाईको प्रतिक्रिया !