काठमाडौँ — पटना–मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी भएको छ । बाराको अमलेखगन्जस्थित नेपाल आयल निगमको डिपोमा पटनाबाट सिवान र मोतिहारी हुँदै पेट्रोलियम पाइपलाइनमार्फत डिजल आपूर्ति हुँदै आएको छ । भारतीय अखबार नवभारत टाइम्सका अनुसार बिहारको सिवान जिल्लाको डुमरा गाउँ नजिकै पाइपलाइन फुटाएर चोरी भएको हो । बिहारमा पेट्रोलियम पाइपलाइन फुटाएर चोरी भएको यो पहिलो घटना भएको पनि नवभारत टाइम्सले उल्लेख गरेको छ । जिल्ला प्रशासन कार्यालय सिवानका अधिकारीहरुले करोडौं रुपैयाँ बराबरको डिजल चोरी भएको आशंका गरेका छन् । पाइपलाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले खेतमा डिजल बगेको देखेपछि भारतीय आयल निगमका अधिकारीहरुलाई खबर गरेका थिए । मेन पाइपमा प्वाल बनाएर सानो पाइपबाट डिजल चोरी गरिएको नवभारत टाइम्सले उल्लेख गरेको छ । त्यस्तै दैनिक सयौं लिटर डिजल चोरी भएको हुन सक्ने पनि आशंका गरिएको छ । करिब चार फीट तलको फाइपलाइनमा सानो पाइप जोडेर डिजल चोरी गरिएको हो । महत्वाकांक्षी परियोजनाका रुपमा लिइएको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको गत वर्ष भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । यो दक्षिण एसियाकै पहिलो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन हो ।
तपाईको प्रतिक्रिया !