विभिन्न आठ बुँदे प्रतिबद्धतासहित तातो हावाको लहर विशेष ः प्रदेश विपद् संवाद कार्यक्रम सम्पन्न भएको छ । तातो हावाको लहर एक प्रकारको प्रकोप रहेको र यसको जोखिम न्यूनिकरण गर्न प्रदेश स्तरमा आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको हो ।


राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा जनकपुरधाममा सम्पन्न संवाद कार्यक्रमले तातो हावालाई प्रदेशको प्रमुख प्रकोपको रुपमा मान्यता दिने, तथ्याङ्क तथा प्रमाणमा आधारित लगानी बढाउने, पूर्व अनुमानमा आधारित रही पूर्वतयारी र प्रतिकार्यको योजना बनाउनेलगायतको प्रतिबद्धता व्यक्त गरेको छ ।

मधेश प्रदेशमा सर्पको टोकाइ, तातो हावा, लु, बाढी, चिसो हावा, शीतलहरलगायतका प्रकोपले वार्षिक रुपमा दर्जनौं व्यक्तिले ज्यान गुमाउनु परेको छ । यी प्रकोपको पूर्वसूचना नहुँदा र प्रभावको विश्लेषण नहुँदा पूर्वतयारी र प्रतिकार्यको काम हुन सकेको छैन् । संवाद कार्यक्रममले जल तथा मौसम विज्ञान विभागसँग समन्वय गरी पूर्वअनुमानलाई समुदायस्तरमा प्रभावकारी रुपले प्रवाह गर्नुपर्नेमा जोड दिएको छ ।


संवाद कार्यक्रममा प्रदेश सरकारले विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि प्रदेशको वार्षिक बजेटको पाँच प्रतिशत बजेट प्रकोपको जोखिम न्यूनिकरणका लागि खर्च गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रदेशले प्रकोपको जोखिम न्यूनिकरणका लागि छुट्याइने बजेट हरित पूर्वाधार विकास कार्यक्रम, जलवायु परिवर्तनले ल्याएको असर न्यूनिकरणलगायतका कार्यक्रममा खर्च गर्ने जनाएको छ । कार्यक्रममा प्राधिकरणका उपसचिव वेदनिधि खनालले प्रकोपको जोखिम न्यूनिकरणका लागि प्रदेश सरकारले जनाएको प्रतिबद्धता सकारात्मक रहेको भन्दै प्रशंसा गर्नुभयो ।