महोत्तरीको लोहारपट्टी नगरपालिका–२ मा शनिबार स्थानीय तहको रोजगार रणनीति तर्जुमाको लागि रोजगार संवाद कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको समन्वयमा लोहारपट्टी नगरपालिकाले आयोजना गरेको रोजगार संवाद कार्यक्रममा सहभागिहरुले व्यवसाय व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

लोहारपट्टी–५ मा किराना सामानको थोक व्यापार गरेका धिरज साहले व्यवसाय व्यवस्थापनबारे तालिम दिनुपर्नेमा जोड दिए ।
अहिले व्यवसायीलाई पान र भ्याट बीचको भिन्नता थाहा छैन्, उनले भने–यो सम्बन्धि व्यवसायीलाई स्पष्ट गर्ने कार्य पालिकाले गर्नुपर्छ । व्यवसायीलाई कानूनी प्रक्रियाबारे आवश्यक जानकारी दिएर सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए ।
केही दिनदेखि भैंसी पालनमा लागेका लोहारपट्टी–५ का अमित कुमार मण्डलले पालिकाबाट अनुदान सहयोग प्राप्त भएमा व्यवसाय विस्तार गर्ने बताए ।

पशुपालन सम्बन्धी आवश्यक तालिम र जानकारी उपलब्ध गराउनुपर्ने धारणा उनको थियो ।
लोहारपट्टी नगरपालिका–२ का वडाध्यक्ष राममिलन यादवको अध्यक्षतामा भएको रोजगार संवाद कार्यक्रममा विद्यार्थीहरुले प्रविधिसम्बन्धि तालिम दिनुपर्नेमा जोड दिए । छात्राहरुले कम्प्युटर, ब्युटिसियन जस्ता स्वरोजगार हुन व्यवसायिक तालिम संचालन गर्न सुझाव दिए । वडा नं. ५ का वडाध्यक्ष रामदिनेश मण्डलले रोजगारमा लागेका नागरिकको व्यवसाय व्यवस्थापन गर्न पालिकाले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरे ।

रोजगारी नपाउँदा विदेशतिर जान बाध्य रहेको अवस्थामा स्थानीय स्तरमा स्वरोजगार र सरकारी निकायबाट रोजगार सम्बन्धी कार्यक्रमहरुलाई व्यवस्थापन गरेर अघि बढ्न जरुरी रहेको वडाध्यक्ष मण्डलले बताए ।
लोहारपट्टी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बदरुल अन्सारीले पालिकाले व्यवसाय क्षेत्रलाई व्यवस्थित पार्न आगामी आर्थिक वर्षमा योजना संचालन गर्ने बताए । रोजगारमा लागेका नागरिकलाई व्यवसाय सम्बन्धि आवश्यक जानकारी र तालिमको व्यवस्थापन पालिकाले गर्ने उनले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत अन्सारीले कार्यक्रमको औचित्य प्रष्ट पारेका थिए । रोजगार संयोजक सरोज कुमार यादवले संचालन गरेको कार्यक्रममा सहभागीहरुबाट उठेको सवालको सम्बन्धित व्यक्तिले जवाफ दिएका थिए । वैदेशिक रोजगारीमा जादा ध्यान दिनुपर्ने कुराहरु श्रमस्वीकृति लगायतका विषय साथै विदेशमा कोही कसैको निधन भएमा परिवारले पाउने क्षतिपूर्ति, बिरामी हुदाँ पाउने उपचार सुविधा लगायतका विषयमा रोजगार संयोजक यादवले जानकारी दिएको थियो । कार्यक्रममा वडा सचिब, लोहारपट्टी नगरपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका यशोदा कार्की भण्डारी, आइटी अमित यादव लगायत विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !