जनकपुरधाममा पालिकास्तरीय बालभेला शनिबार सम्पन्न भएको छ ।
युरोपियन युनियन र संयुक्त राष्ट्र संघ(युनिसेफ, युएनएफपीए, युएन ओमेन र आइएलओ) को आर्थिक सहयोग तथा लाइफ नेपालको साझेदारीमा संचालित सशक्त महिला समृद्ध नेपाल परियोजना अन्तर्गत जनकपुरधाम पालिकास्तरीय बालभेला भएको हो ।
संकटमोचन मावि कक्षा १० मा अध्ययनरत्त प्रिया कर्णको अध्यक्षतामा भएको बाल भेलामा बालबालिका, किशोरकिशोरीहरुले आफ्नो समस्या र त्यसको समाधानबारे प्रस्तुतिकरण गरेका छन् ।
भेलामा स्थानीय सरकारले बजेट बनाउने विभिन्न चरणबारे अभिमुखीकरण भएको छ । सो बाहेक बालबालिकाहरुको रुचिको विषय, आत्मरक्षा, बाल परिकल्पना तथा समस्याको पहिचान तथा प्राथमिकीकरणका बिषयमा पनि अभिमुखीकरण भएको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले बताए ।
उनीहरुले सुरक्षा, समाजको परिकल्पना लगायतको विषयमा प्रस्तुत गरेको प्रस्तुति संकलन गरेर जनकपुरधाम उपमहानगरपालिकालाईमा बुझाउने सशक्त महिला समृद्ध नेपाल परियोजनाका कार्यक्रम व्यवस्थापक लक्ष्मी साहले बताइन् । बालबालिकाको मुद्दा पनि आगामी आर्थिक वर्षको बजेटमा समेट्नको लागि उनीहरुको समस्या र समाधानबारे मत संकलन गर्नको लागि बालभेला आयोजना गरिएको साहले भनिन् ।
जनकपुरधाम उपमहानगरपालिकाका ६० जना बालबालिका, बाल क्लव, दलित, महिला, अपांगता भएकाहरुको समेत मुद्दा सम्बोधन गराउन भेलामा बालबालिकाहरुले आ आफ्नो समस्याहरु राखेका थिए ।
भेलामा ८ देखि १२ वर्षका समूह, १२ देखि १९ वर्ष मुनिका बालिका र बालकको छुट्टाछुट्टै समूहले विभिन्न मुद्दाहरुमाथि छलफल गरी प्रस्तुत गरेको सहजकर्ता अमर यादवले बताए । भेलाले विभिन्न विषयगत कार्ययोजना निर्माण गरि उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने भएका छन् ।
बालबालिकाले बुझाएको कार्ययोजनामा विद्यालय वा समुदायमा आवश्यक सामाग्री व्यवस्थापन, बाल बिबाह, बाल हिंसा तथा बाल श्रम नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम, सडक नाटक तथा अभिमुखीकरण, जीवन उपयोगी तथा आत्मरक्षा सम्बन्धि तालिमको ब्यबस्था, बिद्यालय सरसफाइका समाग्री व्यवस्थापन, डस्विन तथा सेनिटरी प्याडको प्रभावकारी ब्यबस्थापन तथा शुद्ध खानेपानी लगायतका कार्ययोजना रहेका छन् ।
भेलामा युनिसेफका विष्णुमाया भट्टराई, जनकपुरधाम उपमहानगरपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख सुनिल झा, कल्पना कुमारी लगायत विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !