धनुषा कमला नगरपालिका–१ लबका टोलकी रुपनी मण्डल पेशाले महिला स्वास्थ्य स्वयम्सेविका छिन् । तर गाउँमा उनी एउटा अभिभावकको भूमिका निर्वाह गर्छिन् । कमला नगरपालिका केन्द्र माचिदेखि करिब दुई किलोमिटर उत्तरमा पर्ने लबकाटोलमा बसोबास गर्ने परिवारका महिलाहरुलाई समय समयमा स्वास्थ्य सम्बन्धी सल्लाह सुझाव दिनुका साथै आवश्यक्ता परे स्वास्थ्य केन्द्रमा समेत पठाउँछिन् । टोलका अधिकांश पुरुष बैदेशिक रोजगारमा रहेका ती टोलमा स्वास्थ्य सम्बन्धी समस्या हुँदा महिलाहरुले चासो लिने गरेका छन् । महिलाहरुमा रुपनीको भूमिका बढी हुने गरेको छ । उनी स्थानीय अनुभवि महिला स्वास्थ्य स्वयम्सेविका भएर पनि ।
टोलमा हुने स्वास्थ्य सम्बन्धी कार्यक्रमको एकप्रकारले अगुवाई नै गर्ने रुपनी गर्भवति महिला, सुत्केरी, बालबालिकालाई विद्यालय पठाउने कार्यमा अभिभावककै भूमिका निर्वाह गर्दै आएकी स्थानीय अंजिला मण्डल बताउँछिन् ।
उनी लबका टोलमा सम्मानित छिन । उनी विगत लामो समयदेखि महिला स्वयं सेविकाको रुपमा सक्रिय छिन् । प्लान इन्टरनेशनल नेपालको आर्थिक र प्राविधिक सहयोगमा संचालित गर्लस स्टयान्डिङ स्ट्रोङ्ग (जीएसएस) परियोजना अन्तर्गत अभिभावक शिक्षक कार्यक्रममा समेत रुपनी सक्रिय छिन् ।
सुत्केरी महिला, शिशुलाई पोषणयुक्त आहार खुवाउनको लागि समेत परियोजनाले महिलाहरुलाई आवश्यक तालिम दिएको छ । जसको उपलब्धी हो–शिशु, बालबालिकालाई फर्सीको हलुवा, लिटो लगायतको पोषणयुक्त सामग्री उनीहरुले सजिलै पकाउछिन् ।
यसका अतिरिक्त रुपनीले गर्भवती महिलालाई गर्भजाँच गर्ने तथा सुरक्षित प्रसूति सेवा पु–याउने लगायतका जिम्मेवारी निर्वाह गदै आएकी छिन् । यी र यस्तै गतिविधिमा उनी विगत तीन दशकदेखि सामाजिक काममा सक्रिय छिन् ।
यही अवधिमा उनले शिक्षाबाट वञ्चित महिलाहरुलाई शिक्षित बनाउने अभियानमा पनि सक्रियता देखाएकी छिन् । उनी आफै भने सामान्य लेखपढ जानेकी छिन् ।
‘म आफैंले विद्यालय नगएका बालबालिकालाई त्याहाँसम्म पुर्याउनमा सहयोग गरेको उनी सुनाउँछिन् । आफ्नै पढाइ कम भएपछि अप्ठेरो लागेको छ,’ उनले भनिन् । यी सबै व्यवस्थापन गर्न भने सजिलो छैन ।
स्वयंसेविकाको काम गरेबापत उनले खासै पारिश्रमिक भने पाउँदिनन् । वर्षमा एक पटक पोसाक भत्ता र प्रतिमहिना तीन हजार रुपैयाँ मात्र उनका हातमा पर्छन् । समाजका लागि गरिने यी सब कामले उनलाई आन्तरिक सन्तुष्टि मिलेको छ । ‘अहिले पनि टोलटोलमा महिला हिंसा छ । महिलाहरु घरबाहिर निस्कन सक्दैनन् । त्यस्ता महिलाहरुको सेवा गर्न पाउँदा खुसी लाग्छ,’ उनले भनिन् ।
स्वयंसेविकाले स्थानीय तहमा परिवार नियोजन सेवा, गर्भजाँच, प्रसूतिपछि कवज लगाइदिने, प्रसूतिपछिकोे हेरचाह, स्तनपानलगायतका सेवा प्रभावकारी भूमिका खेल्दै आएको उनी सुनाउँछिन् ।
आफ्नो वडाका गर्भवती तथा सुत्केरी समेतको सहभागितामा ‘आमा समूह’ गठन गर्ने, आमा समूहको विस्तार गर्दै जाने, कम्तीमा हरेक महिनाको एकपटक विभिन्न स्वास्थ्य समस्यामा बैठक बसाल्ने गरेको उनको अनुभव छ ।
यस्तै वडाका बासिन्दाका आधारभूत प्राथमिक स्वास्थ्य सेवाभित्र पर्ने खोप, सुरक्षित मातृत्व, परिवार नियोजन, झाडापखाला, श्वासप्रश्वास नियन्त्रण र पोषणलगायत बालस्वास्थ्य तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको प्रवद्र्धनमा समेत उनी भूमिका निर्वाह गर्दै आएकी छन् ।
स्वास्थ्यकर्मीको सबल नेतृत्व र सेविकाको सहयोगमा मातृ–शिशु स्वास्थ्य, शिशु तथा बालबालिका स्वास्थ्यसम्बन्धी टोलपडोसका महिलाहरुलाई समेत जानकारी गराउँन पाउँदा गर्व महशुस भएको उनी बताउँछिन् ।
तपाईको प्रतिक्रिया !