धनुषा कमला नगरपालिका–१ लवका टोलकी अंजिला मण्डल अचेल निकै हर्षित देखिन्छिन् । हर्षित देखिने अस्वभाविक पनि होइन् । उनको जेठो छोरा ओभरसियर पढेर विदेशिएका छन् भने कान्छो छोरा जनकपुरमै बीबीएको पढाई गरिरहेका छन् । छोरी अंकिता मण्डललाई संगै राखेर स्थानीय विद्यालयमा पढाउँछिन् । अंकिता कक्षा ८ मा अध्ययनरत्त छिन् ।
मामा घरबाट आफ्नो घर आएर विद्यालय नियमित हुन सकेकी थिइनन् अंकिता । उनलाई विद्यालयमा नियमित गराउन प्लान इन्टरनेशनल नेपालको सहयोगमा सपोर्ट नेपालले संचालन गरेको गर्लस स्टैण्डिङ स्ट्रोङग परियोजनाले पनि सघाएको छ ।
उक्त परियोजना अन्तर्गत संचालित किशोरी कक्षामा अंकिता पनि नियमित छिन् । अंकिता किशोरी कक्षासँगै विद्यालयमा पनि नियमित रहेको उनकी आमा अंजिला सुनाउँछिन् ।
श्रीमान रोजगारको क्रममा विदेशमा रहेपनि अंजिलाले घरसँगै बालबालिकाको हेरचाह पनि सहज तरिकाले गर्दै आएकी छन् । आफूलाई अभिभावकको पनि सहयोग रहेको उनी सुनाउँछिन् । आफूले टोलपडोसका महिलाहरुलाई समेत गर्भवति हुँदा नियमित स्वास्थ्य जाँच गराउन, बालबालिकालाई पोषण खानेकुरा खुवाउनबारे जानकारी गराइरहेको अंजिला बताउँछिन् ।
बालबालिकालाई नियमित विद्यालय पठाउन अभिभावक शिक्षा सत्रले सहयोग गरेको सम्झिदै अंजिलाले विद्यालय नजाने बालबालिकालाई विद्यालयमा भर्ना गराएको सुनाउँछिन् ।
आर्यण मण्डल, निभा मण्डल लगायतलाई विद्यालयमा नियमित गराएर उनी सन्तुष्ट छिन् । आगामी दिनमा पनि समाजिक विकासको कार्यमा सक्रिय रह्ने उनी भन्छिन् । शिशुलाई कुपोसित हुन नदिन पोषणयुक्त खानेकुरा खुवाउनबारे तालिम दिएको सपोर्ट नेपालका फिल्ड सुपरभाइज आशिष सिंह दनुवारले बताए ।
आमा शिक्षित भए परिवार र बाबु शिक्षित भए उ एकमात्र शिक्षित हुने भनाई हाम्रो समुदायमा यथार्थ पुष्ट्याई हुदै आएको छ । अभिभावक शिक्षा र नागरिक शिक्षालाई एकअर्काको परिपूरकको रुपमा लिन सकिन्छ । अंजिला सुनाउँछिन् ।
मानवीय जीवनशैलीमा परिवर्तन नआएसम्म शिक्षाको अर्थ रहदैन । शिक्षित हुनुको अर्थ सक्कली, नक्कली छाप लागेका, सही भएका र केही बिषयको नाम तथा अंक समावेश भएको प्रमाणपत्र बोक्नुमात्र होइन । ब्यक्तिले सीप र ज्ञान हासिल गर्नैपर्छ । सीप र ज्ञान विना शिक्षाको कुनै अर्थ हुदैन र जीवनमा परिवर्तन आउँदैन पनि । चरित्रबाट र असल नागरिकबाट मात्र एउटा शिष्ट मर्यादित तथा अनुशासित परिवार निर्माण हुन्छ भने अंजिलाको बुझाइ छ ।
अभिभावकसँग केटाकेटीको लागि बिताउने समय पुग्दो हुँदैन । सन्तानको निम्ति अनेक दुःख गरेको भन्ने तर उनीहरूसँग कुराकानी गर्ने, मनका भावना साटासाट गर्ने वा हाँसखेल गर्ने समय नै छैन अभिभावकसँग । दैनिक जीविका चलाउनसमेत मानिसलाई धौ धौ छ, व्यस्त नभई कसैलाई सुख पनि हुन्न उनी भन्छन् । यस्तो व्यस्त समयमा पनि सपोर्ट नेपालले महिलालाई सचेत बनाउनमा जुटेकोमा उनी खुशि व्यक्त गर्दै आफूले छिमेकीहरुलाई पनि स्वास्थ्य र शिक्षाप्रति गंभीर हुन सिकाउने गरेकी बताउँछिन् ।
तपाईको प्रतिक्रिया !