पूर्वी धनुषाको ग्रामीण महिला आफ्नो र शिशुको स्वास्थ्य प्रति सचेत हुँदै गएकी छन् । विदेह नगरपालिका–५ की राधा मण्डल अहिले आफ्नो स्वास्थ्य र शिशुको स्वास्थ्यप्रति सचेत बनेकी छिन् । सामान्यतया खाना खुवाएपछि घरको चुलो चौका सम्हाल्ने उनी अहिले बच्चालाई पोषणयुक्त खानेकुरा खुवाउनुपर्ने जानकारी पाएपछि सचेत बनेकी हुन् ।
उनीसँगै अहिले भने प्रजनन् स्वास्थ्यप्रति अन्य महिलाहरु पनि सचेत भएका छन् ।
विदेह नगरपालिकामा प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामाजिक विकास र अनुसन्धान केन्द्र(एसडीआरसी) ले संचालन गरेको सशक्त बालिका (जीएसएस) परियोजनाले राधालाई विगतको पीडा बिर्सेर सन्तान र परिवारको स्वास्थ्यप्रति सचेत गराएका छन् ।
आमा समूह, अभिभावक शिक्षा सत्र लगायतको कार्यक्रमहरुले राधामा उर्जा थप्ने कार्य गरेको छ । एकराही टोल बस्ने राधाले जीवनमा अनेक उतारचढावको सामना गरेकी छन् । राधाले आफ्नो कठिनाइको बावजुद सामाजिक विकास र अनुसन्धान केन्द्रले आयोजना गरेको अभिभावक शिक्षा सत्रमा भाग लिइन् ।
उमेर नपुगेर जन्मिएकाले बच्चा अशक्त हुन गएको उनको बुझाइ छ । बालविवाहको शिकार हुन पुगेकी राधाले जन्माएकी पहिलो सन्तान शारिरिक रुपले अशक्त छन् ।
महिला स्वास्थ्य स्वयंसेविकाको नेतृत्वमा भएका यी सत्रहरूले गर्भावस्थामा बच्चाको विकास र उचित हेरचाहको बारेमा आवश्यक जानकारी दिएको राधाको अनुभव छ ।
राधाले आफ्नो छोरा काशीको अपाङ्गताको मुख्य कारण आफ्नो कम उमेरमा विवाह र गर्भावस्था भएको अनुभव गरेकी छन् । उनले आफ्नो गर्भावस्थामा उचित हेरचाह पाएकी थिइनन् र उनलाई प्रसवपूर्व जाँच र पौष्टिक खाना जस्ता कुराहरूको बारेमा थाहा थिएन ।
सशक्त बालिका परियोजना अन्तर्गत संचालित कार्यक्रममार्फत जानकारी दिएपछि आफूहरू स्वास्थ्यप्रति सचेत हुन थालेको उनको भनाइ छ ।
बालबालिकालाई अत्यावश्यक रुपमा पोसिलो खानेकुरा खुवाउनुपर्ने जानकारी पाएको उनले बताइन् ।
हामी सचेत हुँदै गएका छौं, बालबालिकालाई पोषिलो खानेकुरा, गर्भवति अवस्थामा नियमित स्वास्थ्य जाँच, खानेपानी तथा सरसफाईतर्फ पनि सचेत रहेको उनी सुनाउँछिन् ।
अहिले घर आँगनमै लगाइएको तरकारी र अन्नका गेडागुडी र पोसिलो खाने कुरा आफू र बच्चालाई खुवाउने गरेका छौँ– उनले भनिन् ।
राधाले बच्चाहरूलाई पोषणयुक्त खाना, परिवारको हेरचाह र गर्भावस्थामा नियमित चेकअपको साथमा पोषण वातावरण उपलब्ध गराउनुको महत्व सिकिन् । उनी यो सन्देश आफ्नो समुदायमा फैलाउन चाहन्छिन । आफूले सिकेका कुराहरू आफ्ना छिमेकीहरू, साथीहरू र सहकर्मीहरूसँग साझा गर्न पछि पर्दैनन् उनी ।
राधाले सामना गरेकी चुनौतीहरूको बावजुद पनि आफ्ना बच्चाहरूलाई जीवनमा सम्भव सबैभन्दा राम्रो सुरुवात दिन चाहन्छिन् ।
उनले परियोजना अन्तर्गत प्राप्त गरेको ज्ञान आफ्नै परिवारको लागि मात्र नभई सम्पूर्ण समुदायमा फैलाउन चाहन्छिन् । दुई सन्तानकी आमा राधाको श्रीमान बैदेशिक रोजगारमा छन् । राधाले आफ्नो दुवै सन्तानलाई कुनै प्रकारको समस्या आउन नदिन लागिपरेकी छन् ।
आमा र बच्चाको पोषण स्थिति सुधार्न सञ्चालित कार्यक्रम अन्तर्गत हरेक वार चार खानाको अवधारणा ल्याइएको एसडीआरसीका कार्यक्रम संयोजक बिबश श्रेष्ठले बताए ।
बच्चाको खानामा हरेक बार पहेँलो फलफूल, अन्न, गेडागुडी, हरियो सागपात तथा पशुजन्य खाना खुवाउनुपर्ने कुरालाई कार्यक्रमले सिकाउँदै आएको उनले बताए ।
राधा भन्छिन्, ’बालबालिकाको पोषणका लागि सचेत रहन र व्यवहारमा लागू गर्न सिकाएपछि आफूले बच्चालाई हरेक बार चार तत्व मिश्रित खाना खुवाउने गरेकी छु ।’
बच्चा दुई वर्षको नहुन्जेल पोषणयुक्त खानामा जोड दिनुपर्ने र यो अवधिमा बालबालिकामा ८० प्रतिशत बौद्धिक विकास हुने थाहा पाएपछि आमाहरू सचेत बन्न थालेको राधा सुनाउँछिन् ।
’आमाहरू आफ्नो र बालबच्चाको स्वास्थ्यप्रति ख्याल गर्ने सम्मको परिवर्तन भएको छ, अझै धेरै गर्न बाँकी छ’ राधाले भनिन, ’व्यवहार परिवर्तन भन्ने कुरो धेरै कठिन छ । अहिले बच्चालाई स्तनपान र पोसिलो खाने कुरा खुवाउनुपर्छ भन्ने सचेतना आएको छ ।’
तपाईको प्रतिक्रिया !