जनकपुरधाम उपमहानगरपालिका सहित मधेश प्रदेशको १२ वटा पालिकामा महिलाहरूको आर्थिक तथा सामाजिक अवस्थामा सुधार गर्नका लागि “सशक्त महिला समृद्ध नेपाल” अभियान सञ्चालनमा आएको छ । युरोपियन युनियन तथा संयुक्त राष्ट्र संघका एजेन्सीहरु (युनिसेफ, युएनएफपीए, आइएलओ र युएन ओमन)को आर्थिक सहयोगमा लाइफ नेपाल र एनएफसीसीले संचालन गर्न लागेको सो कार्यक्रम अन्तर्गत मंगलबार जनकपुरधाम पालिकास्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ
कार्यक्रममा युनिसेफका कामदेव खनालले सशक्त महिला, समृद्ध नेपाल कार्यक्रमबारे जानकारी दिदै मधेशमा सबैभन्दा बढी बालविवाह रहेको जिकिर गरे । मधेश प्रदेशमा ४२ प्रतिशत किशोरीहरु बालविवाहको शिकार हुनुपरेको बताउँदै यसतर्पm सबै पक्षलाई सचेत हुनुपर्नेमा उनले जोड दिए ।
मधेशका १३६ मध्ये ४ स्थानीय तहमा मात्र महिलाले नेतृत्व गरिरहेको छ, उनले भने–यसले नेतृत्व तहमा महिलाको उपस्थिति न्युन देखाउँछ । २०७८ मा सार्वजनिक भएको जनगणनाको तथ्यांक अनुसार मधेशमा ३७.५ प्रतिशत किशोरीहरुको १५ देखि १७ वर्षमा विवाह हुने गरेको छ भने ३२.६प्रतिशत किशोरीहरुको १८ देखि २० वर्षमा विवाह हुने गरेको हो । यसले मधेशका महिलाहरु अभैm पछाडि रहेको प्रष्ट हुन्छ, उनले भने–महिलालाई सशक्त बनाउन अवसर दिनुपर्छ ।
यस्तै, युएनएफपीएका नरेन्द्र कुमार मिश्रले सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम अन्तर्गत लैंगिक हिंसा, रोकथाम र प्रतिक्रिया तथा अन्तराष्ट्रिय श्रम संगठनको कामबारे प्रकाश पारेका थिए । सो कार्यक्रममा महिला आर्थिक सशक्तिकरण तथा नेतृत्वको भूमिका बारे युएन ओमनकी इन्दिरा आलेले प्रकाश पारिन् ।
युनिसेफकी विष्णुमाया भट्टराईले सो कार्यक्रम अन्तर्गत सामाजिक सुरक्षा प्रणाली र बालमैत्री शासन सुदृढिकरण कार्यक्रमबारे जानकारी दिइन् ।
सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, युनिसेफ नेपालका जनकपुरधाम कार्यालय प्रमुख अनिता दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बलबालिका, महिलाका सवालका विषयहरुलाई स्थानीय तहको नीति, योजना तथा बजेट विनियोजनको लागि पैरबी गर्नुका साथै संयुक्त राष्ट्रसंघका एजेन्सी, साझेदारी संस्थाहरु सहित स्थानीय सरकारसँग प्रभावारी समन्वय र सहकार्य गर्ने उद्येश्यले आयोजित अभिमुखिकरण कार्यक्रममा जनप्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले बताए । सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम धनुषाका दुईसहित मधेश प्रदेशका १२ पालिकामा संचालन हुन लागेको हो ।
तपाईको प्रतिक्रिया !