जनकपुरधामको मुख्य शक्तिपिठ माता राजदेवी सहितका शक्तिपिठ, मन्दिर र पण्डालहरुमा प्रसाद चढाउने र खोइछ भर्ने श्रद्धालुहरुको भिडभाड लागेको छ । फुलपाती सम्पन्न हुने वितिकै आइतवार देखिनै खोइच भर्ने श्रद्धालु महिलाहरु शक्तिपिठमा गएर खोइछ भर्न सुरु गरेका थिए । एता श्री राजदेवी मन्दिरमा लड्डु, मिष्ठान परिकार र नरिवल सहितको प्रसाद चढाउनेहरुको पनि अत्याधिक भिडभाड देखियो । आइतवार मध्यराती देखिनै प्रसाद चढाउनेहरुको लामो लाइन लागेको थियो । मध्यरात देखिनै राजदेवी मन्दिरमा खोइछ भर्नेहरु नारीहरुको पनि बाक्लो लाइन देखियो ।

करिव ३० हजार भन्दा बढिले प्रसाद चढाएको व्यवस्थापनक श्री महाविर युवा कमिटिको अनुमान छ । सो भन्दा बढि महिलाहरुले खोइछ भरेकी छिन । खोइछ भराई नवरात्रमा सन्तान र पतिको जीवन रक्षाका लागि गरिन्छ । फूलपातीको विधि सम्पन्न भएपछि विवाहिता महिला दूर्गा भगवतीको अगाडि सफा वस्त्र ओछयाएर त्यसमाथी पान, सुपारी, नरिवल, सिन्दुर, चुडी, शृङ्गारका सामानहरु, नौवैद्य, रातो चुनरी सहितका विधि समाग्रीहरु राखेर खोइछ भर्ने परम्परा छ । मिथिलाञ्चलमा नवविवाहितालाई माइतीबाट बिदाइ गर्ने बेलामा आफनो कूलदेवतालगायत सम्पूर्ण परिवारको आशिर्वाद स्वरुप खोइछ भरेर पठाउने परम्परा छ । त्यसै अनुरुप माता दूर्गा भवानीको समेत विवाहित महिला खोइछ भरेर आर्शिवाद लिने परम्परा चलिआएको छ । शक्तिपीठ तथा दुर्गा मन्दिरमा फुलपाती पछि दुर्गाको प्रतिमामा आँखा खुलेपछि खोइछ भर्ने गरिन्छ ।

आइवार साँझ ७ बजेर ३० मिनेट पछि राजदेवी मन्दिरमा बोकाबली प्रदान गरिने छ । राजदेवी मन्दिरमा प्रत्येक वर्ष १५ हजारको हाराहारीमा बोकाबली प्रदान हुने गरेको छ । दशैंमा ९ दिन सम्म शक्तिपीठ तथा घरमा पूजा अर्चना सहित दुर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ । नवरात्रीको आठौ दिन महागौरीको पुजापाठ भइरहेको छ । प्रत्येक दिन नवदुर्गाको एक–एक स्वरूपको आराधना गरिने परम्परा अनुरूप आश्विन शुक्ल अष्टमी तिथिमा देवी महागौरीको पूजा–आराधना गरिन्छ । नवरात्रीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौ दिन स्कन्दमाता, र्छठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरि दशैंमा शक्ति पूजा गर्ने परम्परा छ ।
तपाईको प्रतिक्रिया !