मौरिसस- एआईबीडीको कार्यकारिणी समितिमा नेपाल उपाध्यक्षमा निर्वाचित भएको छ ।
कार्यकारिणी समितिमा अब नेपालको तर्फबाट नेपाल टेलिभिजनले २ बर्षका लागि उपाध्यक्षको भूमिकामा काम गर्नेछ ।
सन् १९७७ देखि नेपाल टेलिभिजन र रेडियो नेपाल एआईबीडीको संस्थापक सदस्य रहेका छन् ।
यी सदस्यहरु मध्ये अब यस अघिको कार्यकालमा रेडियो नेपाल कार्यकारिणी सदस्यमा रहेको थियो ।
२१ औँ साधारणसभामा नेपालको तर्फबाट नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाह र रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले प्रतिनिधित्व गर्नुभएको थियो ।

यसैगरी, कार्यकारिणी समितिको अध्यक्षमा भने थाइल्याण्ड निर्वाचित भएको छ । एआईबीडीको कार्यकारिणी समितिमा १० वटा राष्ट्रहरू सदस्य रहने प्रावधान छ । नेपालसहित फ्रान्स, कम्बोडिया, कोरिया भियतनाम, मलेसिया, श्रीलङ्का, थाइल्याण्ड कार्यकारिणी समितिमा निर्वाचित भएका छन् ।
यसैगरी, मौरिससको वालाक्भामा सम्पन्न एआईबीडीको २१ औँ साधारण सभाले भारतलाई आगामी दुई वर्षका लागि सभापति र कम्बोडियालाई उपसभापतिमा निर्वाचित गरेको छ । साधारण सभा र ४८ औँ वार्षिक भेला अक्टोवर २ देखि ४ सम्म र भएको थियो ।
एआईबीडी सन् १९७७ मा स्थापित एसिया प्यासिफिक क्षेत्रको प्रसारण क्षेत्रको विकास र विस्तारमा विशेष भूमिका खेल्दै आएको एक अन्तर्राष्ट्रिय संस्था हो ।

यसले स्थापनाकालदेखि प्रसारणको क्षेत्रीय नीति, विश्वव्यापी रुपमा प्रसारण सम्बन्धी चुनौतीहरूको जानकारी, साधन स्रोतको विकास, मिडिया उद्योगमा नवीनतम प्रयोग तथा सूचना प्रविधिको उच्चतम प्रयोग तथा प्रसारण सामाग्री उत्पादन र प्रसारणको सम्बन्धमा सदस्य राष्ट्रहरूलाई सघाउँदै आएको छ ।
हाल एआईबीडीमा ४४ राष्ट्रहरू सदस्य रहेका छन् । यसको केन्द्रीय कार्यालय मलेसियामा रहेको छ ।
एआईबीडी को सचिवालय निर्देशकका रूपमा मलेसियाकी मिस फिलोमेना कार्यरत हुनुहुन्छ ।
तपाईको प्रतिक्रिया !