बिनिता कामत जनकपुरधाम । गाउँपालिका/नगरपालिकाका कर्मचारीहरुको लागि सार्वजनिक वित्त व्यवस्थापन(पब्लिक फाइनान्स म्यानेजमेन्ट) तालिम बिहीबारदेखि जनकपुरधाममा शुरु भएको छ । युरोपियन युनियनको आर्थिक र युनिसेफको प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशले आयोजना गरेको तीन दिने तालिममा सार्वजनिक वित्तको क्षेत्रमा कार्यरत जनशक्तिलाई दक्ष र सीपयुक्त बनाउन सम्बन्धी जानकारी गराइने भएको छ ।
तालिमको उद्घाटन गर्दै मधेश प्रदेशका अर्थसचिव प्रेमप्रसाद भट्टराईले आर्थिक कारोबारलाई पारदर्शी गर्नको लागि आग्रह गरे । आयदेखि व्ययको बजेट बनाउँदा गरिब, विपन्न, बालबालिका, दलित लगायतलाई सम्बोधन गर्नुपर्ने तर्क उनको थियो । सार्वजनिक वित्तको क्षेत्रलाई व्यवस्थित एवम् पारदर्शी बनाएर अघि बढ्दा कुनै प्रकारको समस्या नआउने विश्वास उनले व्यक्त गरे । मधेश प्रदेशका पालिकाहरुलाई आप्mनो श्रोतले पुगेमा मात्र करमुक्त पालिका घोषणा गर्नको लागि उनले सुझाव समेत दिए । केही दिन यता मधेशका पालिकाहरुले सबै प्रकारको कर छुट गरेर करमुक्त पालिका घोषणा गर्ने अवैज्ञानिक परम्पराको विकास भएको उनले थपे । आर्थिक प्रशासन सार्वजनिक प्रशासनका अन्य क्षेत्रभन्दा गतिशील र बढी संवेदनशील हुँदा आर्थिक प्रशासनमा कार्यरत कर्मचारीलाई तालिम मार्फत दक्ष, सीपयुक्त र सकारात्मक बनाउनु अति आवश्यक भएको उनले बताए । सो अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा.मुक्तीनारायण साहले स्वास्थ्य क्षेत्रमा पछाडि परेको मधेश प्रदेशको विकासमा सबैको सहयोगको आवश्यक्तामा जोड दिए । तालिमको उद्घाटन सत्रको अध्यक्षता समेत गरेका डा. साहले पालिकाहरुको विकास भए प्रदेशको विकास हुने भएकाले सबै क्षेत्रको सम्बोधन हुने गरी बजेट ल्याउनुपर्नेमा जोड दिए । उद्घाटन सत्रमा युनिसेफका चिजा भण्डारीले तालिमको उद्येश्यबारे प्रकाश पार्दै स्थानीय तहमा आर्थिक कारोबारलाई व्यवस्थित पार्नको लागि मधेश प्रदेशस्तरीय तीन दिने तालिमको आयोजना गरिएको बताइन् । प्राप्त ज्ञान तथा सीपको निरन्तर सुपरिवेक्षण, सोको अभिलेखन तथा कर्मचारीलाई पूर्ण जिम्मेवारी बनाउने, तालिम लिएका कर्मचारीबाट प्रवाहित सेवा र प्रदर्शित व्यवहार बारे तालिममा जानकारी गराइने उनले बताइन् । तालिममा प्रदेशका आठै जिल्लाका ११ पालिकाका प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा र योजना शाखाका प्रमुखहरुको सहभागीता रहेको छ । तालिमको सहजीकरण दुर्गानिधि शर्मा र गोकर्ण शर्माले गरेका छन् ।
तपाईको प्रतिक्रिया !