काठमाडौं- नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले स्वच्छ, निष्पक्ष, छिटो छरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको बताउनुभएको छ । संसदीय सुनुवाइ समितिमा प्रस्तुत गर्नुभएका कार्कीले आफ्नो कार्ययोजनामा न्याय प्रशासनलाई प्रभावकारी बनाउने जिम्मेवारीप्रति त्यतिकै सजग र संवेदनशील रहने पनि स्पष्ट गर्नुभयो ।प्रधानन्यायाधीश कार्कीले भन्नुभएको छ, “सबैका लागि न्याय सुनिश्चित गर्ने मुख्य जिम्मेवारीप्रति त्यतिकै प्रतिबद्ध रहनेछु । प्रस्तुत कार्ययोजनाबाट न्यायिक सुशासन र न्यायपालिकाप्रतिको आस्था एवं विश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने ठानेको छु ।”विसं २०१५ भदौ २५ गते ओखलढुङ्गाको माम्खामा जन्मनुभएका प्रधानन्यायाधीश कार्कीले विसं २०३९ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा सङ्कायमा स्नातक गर्नुभएको थियो । लामो समयसम्म वकालत पेसामा रही आफ्नो छवि बनाउनुभएका उहाँले विसं २०६९ मा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नुभएको थियो ।सोही वर्ष कार्की नेपाल बार एसोसिएसनको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । विसं २०७१ मा नेपाल सरकारको महान्यायाधिवक्ता पदमा नियुक्त हुनुभएका उहाँ नेपाल बार काउन्सिल र नोटरी पब्लिक काउन्सिलको अध्यक्ष हुनुभएको थियो ।विसं २०७२ मा सर्वाेच्च अदालतको न्यायाधीशको जिम्मेवारीमा प्रवेश गर्नुभएका कार्कीलाई न्याय सेवा परिषद् र न्यायसेवा आयोगको सदस्य भई काम गरेको अनुभव छ ।संवैधानिक परिषद्ले उहाँलाई गत वैशाख २५ गते नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्दै संसदीय सुनुवाइ गर्न सङ्घीय संसद्समक्ष पठाउने निर्णय गरेको थियो ।समितिले आज उहाँको कार्ययोजना र उहाँविरुद्ध प्राप्त उजुरीमाथिको छलफल र प्रश्नोत्तरपछि प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सर्वसम्मत अनुमोदन गरेको थियो । समितिको निर्णयपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्त उहाँले आजै पद तथा गोपनीयताको शपथ लिइसक्नुभएको छ ।
तपाईको प्रतिक्रिया !