समाधानका लागि उहाँले संसद्मार्फत् सरकारसँग आग्रह गर्नुभयो । त्यस्तै किसानलाई मल, बीउ, सिँचाइलगायतका सुविधा समयमै उपलब्ध गराइनुपर्ने उहाँको भनाइ छ । हरेक वर्ष सार्वजनिक शिक्षा सुधारको विषय सरकारको नीति तथा कार्यक्रम र बजेटमा पर्ने गरेपनि त्यसको नतिजा सन्तोषजनक नरहेको धारणा सांसद सरिता भुसालले राख्नुभयो । सङ्घीय शिक्षा ऐन बन्न नसकेको, करार सेवाको शिक्षकको सेवा सुविधाको विषय, न्यून दरबन्दीलगायतका विषय उहाँले उठाउनुभयो ।सांसद शान्ति चौधरीले राजापुर र टीकापुर जोड्ने कर्णाली पुल जीर्ण बन्दै गएकाले त्यसको प्राविधिक अध्ययन र मर्मतसम्भारका लागि आग्रह गर्नुभयो । सांसद सीता कुमारी रानाले सवारीसाधनको इन्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने भाषा देवनागरी लिपीमा हुनुपर्ने बताउनुभयो ।सांसद सुनिता बरालले स्वास्थ्य संस्थाका कार्यस्थलमा अनुमति नलिइकन फोटो तथा भिडियो खिच्ने र त्यसलाई सामाजिक सञ्जालमा अतिरञ्जित गर्ने गरेको विषयबारे आन्दोलनरत स्वास्थ्यकर्मीको विषय उठाउनुभयो । यो विषयबारे अहिले माइतीघर मण्डलामा नर्सहरु आन्दोलनमा रहेको बताउनुहुँदै उहाँले स्वास्थ्य संस्थाका कार्यस्थलमा हुने यस्ता गतिविधिमा रोक लगाइनुपर्ने बताउनुभयो । सांसद सूर्यकुमारी श्रेष्ठले सुर्खेत र दैलेख जोड्ने सडकमा सवारी चाप बढी भएकाले उक्त सडक दुई लेनमा विस्तार गरिनुपर्ने बताउनुभयो । सांसद सूर्यप्रसाद ढकालले सहकारी क्षेत्र अस्तव्यस्त हुँदै गएको र पछिल्लो समय शिवशिखर सहकारीले ठूलो रकम हिनामिना गरेको विषय उठाउनुभयो । यो सहकारीका सञ्चालक फरार भएकाले पक्राउ गरी छानबिन प्रक्रिया अघि बढाउन उहाँले आग्रह गर्नुभयो । सांसद सोविता गौतमले व्यापारघाटा कम गर्न तथा विद्युतीय सवारीसाधनको प्रयोग बढाउन सरकारले विद्युतीय सवारी साधनको कर बढाउन नहुने धारणा राख्नुभयो ।सांसद हृदयराम थानीले सुर्खेतको बाबियाचौरको इलाका प्रशासन कार्यालयमार्फत् राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा दिने र त्यहाँको इलाका प्रहरी कार्यालयलाई मुद्दा दर्ताको अधिकार दिनुपर्ने माग राख्नुभयो । त्यहाँ नापतौल र मालपोत कार्यालय आवश्यक रहेको पनि उहाँको भनाइ छ ।सांसद ज्ञानु बस्नेत सुवेदीले नेपाल रेडक्रस सोसाइटी समस्यामा रहेकाले त्यसका लागि सम्बन्धित निकायले गम्भीर भएर काम गर्नुपर्ने बताउनभुयो । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मक्का मदिना जान विगतका तुलनामा अहिले महँगो भएकाले विपन्न र न्यून आय भएका मुस्लिम समुदायलाई सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
तपाईको प्रतिक्रिया !