जनकपुरधाम, १७ बैशाख । मुख्यमन्त्री सरोजकुमार यादवले बैशाख १७ गतेलाई प्रदेश सरकारले बालविवाहविरुद्धको दिवस मनाउने घोषणा गर्नुभएको छ ।
जनकपुरधाममा आइतबारदेखि सुरु भएको दुई दिवसीय मधेश बालिका सम्मेलन–२०८० लाई उद्घाटन गर्दै मुख्यमन्त्री यादवले सन् २०३० सम्म मधेश प्रदेशलाई बालविवाह मुक्त बनाउन रणनीतिक योजना ल्याएको बताउनुभयो ।

१० वर्षे रणनीतिक योजना र बाल सहभागिता कार्यविधि स्वीकृत भइसकेको जानकारी दिनुहुँदै मुख्यमन्त्री यादवले प्रदेशमा बालविवाह अन्त्य गर्ने अभियानलाई तदारुकताका साथ अघि बढाउने बताउनुभयो ।
लाइफ नेपाल नामक संस्थाको समन्वय तथा करिब दुई दर्जन संघसंस्थाको सहयोगमा महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालयले आयोजना गरेको बालिका सम्मेलनमा मुख्यमन्त्री यादवले प्रदेशमा बालविवाह विरुद्धको अभियान अघि बढाउन मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बालबालिकाको हकहितका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउंदै उहांले सरकारले यस दिशामा महत्वपूर्ण प्रयासहरु गरिरहेको चर्चा गर्नुभयो । बेटी पढाउ, बेटी बचाउ अभियान पनि प्रदेशमा बालिकालाई सशक्त पार्ने उद्येश्यले संचालन गरिएको जानकारी दिनुहुँदै यो अभियानबाट चाहेको अनुरुप प्रतिफल प्राप्त हुन नसकेको स्वीकार गर्नुभयो ।

बालबालिकालाई विद्यालयमा ल्याउन र टिकाउन दलित शिक्षा अभियान संचालन गरिएको बताउनुहुँदै मुख्यमन्त्री यादवले प्रदेशमा बालिकालाई सशक्त बनाउने अभियानलाई यसले बल पुर्याउने विश्वास व्यक्त गर्नुभयो । प्रदेश सरकारले पूर्ण सुरक्षित मातृत्व प्रदेश, कुपोषण मुक्त प्रदेश बनाउने लक्ष्य लिएर अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।
गल्र्स च्याम्पियन अजमेरी खातुनको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश प्रसाद यादवले साक्षर बनाएर प्रदेशलाई बालविवाह मुक्त बनाउनुपर्ने तर्क राख्नुभयो । अन्य प्रदेशको तुलनामा मधेश प्रदेश साक्षरतामा पछाडि रहेको जिकिर गर्नुहुँदै उहाँले साक्षरले मात्रै यस प्रकारको सामाजिक विकृति रोक्नसक्ने बताउनुभयो ।
सो अवसरमा सुरुङ्गा नगरपालिकाकी मेयर गीता चौधरीले बालविवाहका मतियारहरुलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
बालविवाहविरुद्धको अभियानमा तगारो बन्ने नेता होस् वा जनप्रतिनिधि सबै विरुद्ध कठोर भएर प्रस्तुत हुनुपर्ने धारणा उहाँले राख्नुभयो ।
प्रदेशको १३६ पालिकामध्ये सुरंगा नगरपालिकामात्र अहिलेसम्म बालविवाह मुक्त घोषणा भएको छ । सो अवसरमा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बालविवाहविरुद्धको अभियानमा भागी विवाह चुनौती रहेको बताउनुभयो ।
सो अवसरमा महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालयकी उपसचिव देवकुमारी खत्रीले बालविवाहविरुद्धको अभियानबारे एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सोमबार जनकपुरधाम घोषणापत्र सार्वजनिक गर्दै दुई दिने बालिका सम्मेलन समापन हुने छ । बालिका सम्मेलनमा आठै जिल्लाका कम्तीमा दुई सय बालिकाहरु सहभागी भएको महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालयका सचिव रंजित यादवले बताउनुभयो ।

तपाईको प्रतिक्रिया !