काठमाडौं- सरकारले कक्षा १२ पछि र स्नातकअघिका शैक्षिक कार्यक्रमको लागि पनि एनओसी दिने निर्णय गरेको छ । विदेशी शिक्षण संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली नागरिकले लिनुपर्ने पूर्व स्वीकृतिपत्र नो अब्जेक्सन लेटर लिने प्रकृयालाई सरल र सहज बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको हो ।
नयाँ निदेशिका जारी भएसँगै अब कक्षा १२ वा सो सरहभन्दा माथि पढ्न विदेश जान पाउने भएका हुन् । यसअघि स्नातक वा सोभन्दा माथिल्लो तहका लागि मात्र विदेश पढ्न जान पाउने व्यवस्था गरेको थियो ।
गत चैत १९ गतेदेखि नेपालको संविधान र शिक्षा ऐनको संशोधनले विद्यालय शिक्षा भनेर कक्षा १२ सम्मलाई परिभाषित गरेको र त्यहि आधारमा निर्देशिका तयार गरेको भन्दै स्नातक अघिको कुनै पनि कार्यक्रमको लागि एनओसी दिन रोकेको थियो ।
तर त्यसको विरोध भएपछि सरकारले निर्देशिका संशोधन गरी कक्षा १२ पछि र स्नातकअघिका शैक्षिक कार्यक्रमको लागि पनि एनओसी दिने निर्णय गरेको हो । निर्देशिकामा उच्च शिक्षा भन्नाले कक्षा १२ वा सो सरहभन्दा माथिल्लो तहको शिक्षालाई भनेको छ ।
विभिन्न देशहरुका कलेजहरुले सोझै स्नातक भर्ना हुन नदिने, डिप्लोमा, एडभान्स डिप्लोमा, एक वर्षे कोर्षहरु गराउने भएकोले कक्षा १२ पछिका कार्यक्रमको लागि निरन्तरता दिने पक्षमा सरकार पुगेको हो ।
निर्देशिका संशोधनसँगै विद्यार्थीहरुले डिप्लोमा तह वा सो सरहको अध्ययन तथा भाषा अध्ययनका लागि एनओसी लिन पाउने भएका छन् । निर्देशिकाले विदेशी मुद्राको सटही सुविधा सम्बन्धित विद्यार्थीले पेश गरेको अनुमतिपत्रको विवरणको आधारमा पाउने व्यवस्था गरेको छ ।
तपाईको प्रतिक्रिया !