काभ्रे- पछिल्लो समय पाँचखालमा उत्पादित तरकारीमा विषादीको प्रयोग कम पाइएको छ । पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा विषादीको प्रयोग केहि घटेको पाइएको हो ।
नगरलाई विषादी मुक्त बनाउँदै कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले पाँचखाल नगरपालिका र लवग्रीन नेपालले पाँच वर्षअघि सुरु गरेको वातावरण मैत्री एकीकृत दिगो कृषि विकास परियोजना (आईपीएम)ले कीटनाशक तथा ढुसीनाशक विषादीको प्रयोगमा कमी आएको तथ्यांक सार्वजनिक गरेको हो ।
पाँचखाल नगरप्रमुख महेश खरेलले तरकारी परीक्षणबाट आएको रिपोर्टले यहाँ उत्पादित तरकारी खानयोग्य भएको बताउनुभयो । परियोजना लागू भएका कुनै पनि घरधुरीले रातो लेबलको विषादी प्रयोग गर्दैनन्, तर अन्तिम अवस्थामा बाली जोगाउन प्रयोग गर्नुपर्ने अवस्था आएमा निलो र हरियो लेबलको विषादीलाई प्रयोग गरेका छन् ।
जैविक विषादीको प्रयोग सुरुमा दुई दशमलव पाँच प्रतिशत घरधुरीले प्रयोग गर्ने गरेकामा अहिले ७०.४ प्रतिशतले प्रयोग गर्ने गरेका छन् । औसत एक घरधुरीले वार्षिक ३१५ लिटरभन्दा बढी वानस्पतिक विषादीको प्रयोग गर्ने गरेको तथ्यांकले देखाएको छ ।
कृषि विभाग केन्द्रीय कृषि प्रयोगशाला, कृषि ज्ञान केन्द्र प्रयोगशाला, खाद्य प्रविधि प्रयोगशालाले विषादीको मात्र ३५ प्रतिशतसम्म भए खान योग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही समय राखेर खान हुने र ४५ प्रतिशतभन्दा माथि भएमा खान अयोग्य हुने प्रमाणित गर्ने गरेको छ ।
सोमबार पाँचखालमा सार्वजनिक गरिएको प्रतिवेदनमा २०७४ भदौबाट परियोजनाको पाँच वर्षको अवधिमा कीटनाशक विषादी, ढुसीनाशक विषादी, रासायनिक मल, फस्फोरस र पोटासलगायतको प्रयोग उल्लेख्यरूपमा घटेको देखाएको हो ।
परीक्षणको प्रतिवेद अनुसार पाँचखालमा उत्पादन भएका अधिकांश तरकारीमा प्रयोग भएको विषादीको मात्र दुईदेखि १९ प्रतिशतसम्म रहेको छ । बन्दामा दुई दशमलव पाँच र लोकल बोडीमा १८ प्रतिशत अर्गानोफस्फेट प्रयोग गरिएको छ। तुने बोडीमा २७.५ प्रतिशत देखिएको हो ।
तपाईको प्रतिक्रिया !