काठमाडौँ- प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल गौतम निर्वाचित हुनुभएको छ ।
आज संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी नेतृ भुसालले १४८ मत प्राप्त गरेर उपसभामुख पदमा निर्वाचित हुनुभएको हो ।
प्रतिनिधि सभामा आज मतदात हुँदा जम्मा २४२ सांसदहरु रहेकामा १४८ जनाले भुषालको पक्षमा मतदान गरेका थिए भने ९३ जनाले विपक्षमा मतदान गरेका थिए । भुषाल र अर्की उमेदवार विद्या भट्टराई दुबैलाई मत दिन्न भन्ने १ मत परेको थियो ।
प्रतिनिधि सभाको उपस्थित सदस्यहरुमध्येबाट बहुमत भुषालको पक्षमा आएपछि अर्की उमेदवार भट्टराईको प्रस्तावमा मतदान गर्न नपर्ने व्यवस्था सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराउनुभएको थियो ।
प्रतिनिधि सभाको उपसभामुख पद २०७६ साल माघदेखि नै रिक्त थियो । तत्कालिक उपसभामुख शिवमायाँ तुम्बाहाम्फेले राजिनामा दिएपछि खालि भएको सो पदमा आज निर्वाचन भएको हो । कानुन विषयको ज्ञाता मानिनुहुने नवनिर्वाचित उपसभामुख भुषाल नेपाली काँग्रेसकी नेतृ हुनुहुन्छ ।
तपाईको प्रतिक्रिया !