काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीभित्र विभिन्न बहस र विवादबीच आगामी चुनावमा गठबन्धन गर्ने बारे धारणा स्पष्ट गरेको छ ।
चैत ११ गते शुक्रबारदेखि बसेको केन्द्रीय समितिको बैठकले स्थानीय परिस्थति र आवश्यकता अनुसार गठबन्धन गरेका दलहरुसँग चुनावी तालमेल गर्ने नीतिगत निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानमा कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको र जुन–जुन स्थानीय तहमा तालमेल हुने हो त्यहाँ आवश्यक संयन्त्र बन्ने उहाँले बताउनुभयो । स्थानीय तहका उममेदवारका लागि भने पार्टीको विधानमा उल्लेख भए बमोजिमको मापदण्ड लागू हुने उहाँको भनाइ छ ।
बैठकले यसअघि फागुन ३० गते सम्पन्न कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिले गरेको निर्णयहरु अनुमोदन गरेको छ ।
पार्टी विधान अनुरुप देशव्यापीरुपमा कांग्रेसको सदस्यता र क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय पनि गरेको उहाँले बताउनुभयो ।
बैठकले वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय परिचालन समिति गठन गरेको छ ।
प्रवक्ता महतकै संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार समिति समेत गठन भएको छ ।
तपाईको प्रतिक्रिया !