नेपाली कांग्रेस धनुषाको सभापतिका लागि भएको निर्वाचन दोस्रो चरणमा पुगेको छ । मंगलबार अबेर राति भएको मतगणनामा सभापति पदमा तनि जनामध्ये कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा गएको छ ।
पहिलो चरणको मतपरिणाम अनुसार सभापति पदका उम्मेदवार योगेन्द्र पजियारले १ हजार २ सय ४८ मत ल्याउँदै शीर्ष स्थानमा रहेका छन् । यस्तै सभापतिका अर्का प्रतिद्वन्द्वी सन्तोष कुमार यादवले ८ सय ८३ मत ल्याएका छन् । यस्तै, दिनेश प्रसैलाले ६ सय ३० मत प्राप्त गरेका छन् ।
पहिलो चरणमा पजियार यादवभन्दा ३ सय ६५ मतले अगाडी छन् । यता निर्वाचनमा १ सय ५१ वटा मत बदर भएको छ । निर्वाचनमा कुल ३ हजार १७३ मतदाता रहेकोमा २ हजार ९ सय १२ जनाले मतदान गरेका थिए ।
निर्वाचन अन्तर्गत अब दोस्रो चरणमा सभापति पदका मतपरिणम अनुसार पहिलो नम्बरमा रहेको योगेन्द्र पजियार र दोस्रो नम्बरमा रहेको संतोष कुमार यादवबीच कडा प्रतिस्पर्धा हुने अवस्था देखिएको कांग्रेसी नेताहरुले बताएका छन् ।
यता मतपरिणाम अनुसार तेस्रो नम्बरमा रहेको दिनेश प्रसैला पहिलो चरणबाट आउट भएका छन् । अब प्रसैला खेमाको मत दोस्रो चरणमा कसले तान्न सक्ने भन्ने अड्कलबाजी समेत सुरु भएको छ ।
तपाईको प्रतिक्रिया !