जनकपुरधाम । नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशनको क्रममा बाँकी रहेको धनुषाको जिल्ला अधिवेशन अन्तर्गत नेतृत्वका लागि आज निर्वाचन भइरहेको छ । मतदानका लागि जनकपुरधामको तिरहुतिया गाछीमा विशेष व्यवस्था मिलाइएको छ । विभिन्न क्षेत्रका लागि फरक फरक बुथको व्यवस्थापन गरिइएको छ भने बिहान ११ बजेदेखि मतदान सुरु भएको छ । कडा सुरक्षाका बीचमा जिल्ला अधिवेशन अन्तर्गत मतदान कार्यक्रम तीन घण्टा ढिलो गरी सुरु भएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।
नेपाली काँग्रेस धनुषाको सभापति पदका लागि तीन जनाले प्यानलमा नै उम्मेदवारी दिनुभएको छ । सभापति पदका लागि पार्टीका वर्तमान कार्यसमितिका उपसभापति सन्तोष यादव, दुई पटक क्षेत्र नंं ४ को क्षेत्रिय सभापति हुनुभएका क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पंजियार तथा धनुषा निर्वाचन क्षेत्र नंं १ का पूर्व सांसद दिनेश प्रसैलाले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
तीन घण्टा ढिलो गरी मतदान सुरु भएकाले साँझ ६ बजेसम्म मतदान हुने नेपाली काँग्रेस धनुषाले जनाएको छ । धनुषा जिल्लामा ३ हजार १ सय ८७ जना मतदाताहरू रहेका छन् । मतदान सकेपछि आजै बेलुकाबाट मतगणना हुने नेपाली काँग्रेस धनुषाले जनाएको छ ।
नेपाली काँग्रेसको संस्थापन पक्षका दुई जना उम्मेदवार रहेका छन् भने कोइराला पक्षका एक जना उम्मेदवार रहेका छन् । तर तीनै जनाको बीचमा कडा प्रतिस्पर्धा हुने अवस्था रहेको छ ।
तपाईको प्रतिक्रिया !