जनकपुरधाम – मिडियाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको मिडिया एक्सन नेपाल (म्यान)का अध्यक्ष लक्ष्मणदत्त पन्त विश्वभर प्रेस स्वतन्त्रताको रक्षा र प्रवर्द्धन गर्ने विश्वव्यापी नेटवर्कको सहअध्यक्षमा निर्वाचित भएका छन्।
विभिन्न देशका २२ संस्था मिलेर बनेको मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क (एमएफसी–सीएन)को मंगलवार भएको पन्त सहध्यक्षमा निर्वाचित भएका हुन् । मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय संगठनहरूको समूह हो जसले मिडिया स्वतन्त्रता र पत्रकारहरूको सुरक्षाको पक्षमा वकालत गर्न र पत्रकारहरूलाई हानि गर्नेहरूलाई कारबाही गर्न मिलेर काम गर्ने राष्ट्रहरूको साझेदारी मिडिया फ्रिडम कोलिसन (एमएफसी) लाई सल्लाह दिन्छ।
सञ्चारविज्ञ पन्त नेटवर्कका दुई अन्य सहअध्यक्षहरू आर्टिकल १९ का सिल्भिया चोकारो र आइफेक्सका रचेल केसँग विश्वव्यापी रूपमा मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कका गतिविधिहरू समन्वय गर्न र नेटवर्कको प्रतिनिधित्व गर्दै मिडिया स्वतन्त्रताको रक्षा गर्न आयोजना हुने विश्वव्यापी बैठकहरूमा सहभागी हुने छन ।
सहअध्यक्षमा निर्वाचित भएपछि पन्तले भने, ’नयाँ अध्यक्ष हुनुमा ठूलो जिम्मेवारी आउँछ । नेपाल लगायत धेरै देशमा प्रेस स्वतन्त्रतामाथि हमला भइरहेको बेला हामीले यसलाई जोगाउन सामूहिक रूपमा सक्दो प्रयास गर्नुपर्छ । हामीलाई मिडिया स्वतन्त्रता प्रवर्द्धन गर्न साहस चाहिन्छ, त्यसका लागि, म नेटवर्कका अन्य सहअध्यक्ष र सदस्यहरू तथा संस्थाहरूसँग मिलेर हाम्रा कार्यहरूलाई अझ राम्रोसँग समन्वय गर्न र प्रभावकारिता बढाउन काम गर्नेछु।’
मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कका सदस्यहरूमा मिडिया एक्सन नेपालसहित आर्टिकल १९, अन्तर्राष्ट्रिय पत्रकार महासंघ, इन्टरनेसनल प्रेस इन्स्टिच्युट, रिपोर्टर्स सेन्स फ्रन्टियर्स, अन्तर्राष्ट्रिय प्रसारण संघ, समाचारपत्र र समाचार प्रकाशकहरूको विश्व संघ, द गार्जियन, अन्तर्राष्ट्रिय मिडिया सपोर्ट, कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स, पब्लिक मिडिया अलायन्स, इन्टरन्युज युरोप, आइफेक्स, फ्री प्रेस अनलिमिटेड कम्बोडियन सेन्टर फर ह्युमन राइट्स, पाकिस्तान प्रेस फाउन्डेसन, डी डब्ल्यू एकेडेमी लगायतका २२ वटा संस्था रहेका छन्।
गत महिना, नेपाल र दक्षिण एसियामा कार्यरत मिडिया अधिकार तथा अनुसन्धान संस्था मिडिया एक्सन नेपाललाई मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्यको रूपमा चयन गरिएको थियो।
तपाईको प्रतिक्रिया !