सुरेश यादव
जनकपुर – नगराइन नगरपालिका –४, फुलगामाकी राखी राउत २०६५ मा एसएलसी उत्तीर्ण गरिन् । ८ कक्षामै पढिरहँदा परिवारको दबावमा विवाह गर्नुपरेको राखीले ९ कक्षामा पुग्दा छोरी जन्माइन् । नवजात शिशुलाई स्याहार्दै ९ कक्षाको परीक्षा दिइन् । छोरी हुर्काउँदै एसएलसी उत्तीर्ण गरी ११ कक्षामा पढिरहँदा दोस्रो सन्तानको रुपमा छोरा जन्माइन् । उनले जसरी पनि १२ कक्षासम्मको पढाइ पुरा गर्ने अठोट लिएकी थिइन् । तर, सोही अवधिमा तेस्रो र चौथो सन्तान पनि जन्माउनुपरेपछि उनले चाहेर पनि पढाइलाई निरन्तरता दिन सकिनन् ।
चार जना बच्चालाई हुर्काउने जिम्मेवारीले पनि उनलाई आफ्नो पढाइलाई अगाडि बढाउने अठोटले घच्घच्याइरह्यो । आफ्नो बच्चासँगै उनले समुदायका बालबालिकाहरुलाई पनि पढाउन उनको जाँगर चल्यो । माइतिघर सबैलामा रहेको बेला आफन्त पर्ने वडा अध्यक्ष कपिल राउतको सहयोगमा उनले आसमान नेपालको कार्यक्रम ‘निक शिक्षा दिअ’ सँग जोडिइन् । लगत्तै उनले स्वयंसेवकको रुपमा सामुदायिक विद्यालयमा पढ्ने टोलका बालबालिकाहरुलाई पढाउने जिम्मेवारी पाइन् । उनले लगनशिल भएर काम गरिन् । फलस्वरुप ‘निक शिक्षा दिअ’ कार्यक्रमले राखीलाई स्वयंसेवकबाट एक तह बढुवा गरी ठूली दिदीको जिम्मेवारी दियो ।

जम्मा तीन महिना स्वयंसेवकको रुपमा काम गरेकी उनले इमान्दारी पुर्वक जिम्मेवारी निर्वाह गरेको आधारमा बढुवा भएको उत्साहले झन् मिहिनेत गर्न थालिन् । अर्को एक वर्षमा काम गरेको अनुभव र लगनशिलतालाई मूल्यांकन गरी फेरी बढुवा गर्न लागिएको थियो । तर, शैक्षिक योग्यता नपुगेको कारण उनी यथास्थनमा काम गर्न बाध्य भइन् । यो घटनाले चार जना छोराछोरीकी आमा राखीलाई फेरी आफ्नो पढाइलाई निरन्तरता दिन जाँगर चलेको छ । उनले थप मिहिनेत गरी १२ कक्षा उत्तीर्ण गर्ने र स्नातकसम्म पढ्ने सपना सकार पार्न कम्मर कसेर लागेकि छिन् ।
‘निक शिक्षा दिअ’ धनुषाका लक्ष्मिीनियाँ गाउँपालिका, गणेशमान चारनाथ नगरपालिका, नगराइन नगरपालिका र सबैला नगरपालिकामा सञ्चालन भइरहेको छ । यस कार्यक्रमलाई कार्यान्वयन गर्न कार्यक्रम प्रबन्धक दिलिप यादवको कमाण्डमा चार जना पालिका संयोजक, १५ जना सामाजिक परिचालक र ३० जना ठूली दिदी परिचालित छन् । आवश्यक्ता अनुसार स्वयंसेवक परिचालन गरेर पनि समुदायको शैक्षिक वातावरण सुधारलाई अभियानको रुपमा अगाडि बढाइरहेको गणेशमान चारनाथ नगरपालिकाका पालिका संयोजक नरेन्द्र पासमानले बताए ।
‘निक शिक्षा दिअ’ कार्यक्रमले मुख्यतः तीन वर्ग समूहहरु बालबालिका, अभिभावक र शिक्षकलाई केन्द्रित गरी काम गरिरहेको पासमान बताउँछन् । ‘सम्पूर्ण बालबालिका पूर्ण समय औपचारिक दिवा स्कुलमा हुनुपर्दछ’ भन्ने अभियानसँगै यो कार्यक्रमले बालबालिकालाई सबै प्रकारका हिंसाबाट जोगाउनुका साथै गुणस्तरीय शिक्षा प्राप्तिको लागि उचित वातावरण निर्माण गर्न सहयोग पु¥यारहेको सबैला नगरपालिकास्थित आधारभूत विद्यालय ढोलबाजा किरतपुरका प्रअ पवन महतो बताउँछन् ।
यो कार्यक्रमले बालबालिका, अभिभावक र शिक्षकलाई जिम्मेवार बनाउन प्रभावकारी भूमिका खेलिरहेको नगराइनकि ठूली दिदी राखी राउतको बुझाइ छ । उनी भन्छिन्, ‘आमाहरुले पहिलेको तुलनामा बच्चाहरुको पढाइप्रति बढी चासो देखाउन थालेका छन् ।’ ठूली दिदीहरुले समुदाय स्तरमा आमा समूह बनाएर बच्चाहरुको सरसफाइ र निर्धारित समयमा नियमित विद्यालय पठाउन उत्प्रेरित गरिरहेका छन् । यसले आमाहरुमा पनि आफ्नो बच्चाको सरसफाइ र नियमित विद्यालय पठाउन प्रतिस्पर्धा गर्न थालेको उनको अनुभव छ ।
त्यस्तै, शिक्षकहरु पनि पहिलेको तुलनामा बढी जिम्मेवार भएर प्रस्तुत भइरहेको राउतको दावी छ । उनले भनिन्, ‘पहिला गाउँको विद्यालयमा शिक्षकले पढाए पनि भयो नपढाए पनि भयो भनेर जे जति काम गरे पनि सन्तुष्ट हुन्थ्यो । हामी ठूली दिदीहरुले नियमित रुपमा कक्षा अवलोकन गर्ने र आमा समूहहरुलाई जागरुक बनाएर बच्चाहरुको सिकाइमा सुधार आए नआएको भनेर शिक्षकसँग नियमित रुपमा सोधपुछ गर्ने परिपाटीको विकास भएपछि शिक्षकहरु जिम्मेवार बन्न बाध्य हुँदैछन् ।’
र, घरमा अभिभावकले समयमै खाना खुवाएर विद्यालय पठाउने तथा शिक्षकले ध्यान दिएर पढाउन थालेपछि बालबालिकाहरुमा पनि नयाँ उत्साह पैदा हुने र पढाइमा केन्द्रित हुन थालेपछि गुणस्तरीय शिक्षा प्राप्तीको वातावरण बन्न थालेको उनी बताउँछिन् । यी बाहेक ‘निक शिक्षा दिअ’ कार्यक्रम अन्तर्गत विद्यालयहरुमा कक्षागत रुपमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरी राम्रो गर्नेलाई पुरस्कृत गर्ने परिपाटीले बालबालिकाहरुमा सकारात्मक परिवर्तन ल्याउन प्रतिस्पर्धाको भावना विकास भइरहेको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया !