जनकपुर – जनता समाजवादी पार्टी (जसपा) नेपालको युवा संगठन समाजवादी युवा संघले सिके राउत र उनका समर्थकले जनतालाई मारेर राजनीतिक उचाइ खोजिरहेको आरोप लगाएका छन् ।
बलिदानी दिवसको अवसरमा संघले रौतहटको सदरमुकाम गौरमा आयोजना गरेको कार्यक्रमलाई बिथोल्न कार्यकर्ता परिचालन गरेको राउतले कसैगरी मुठभेड गराएर जनता मार्न खोजेको आरोप लगाएको हो । मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री समेत रहेका संघका केन्द्रिय अध्यक्ष योगेन्द्र रायले शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन् ।

‘संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री रेणु यादवलाई लक्षित गरी गैरराजनीतिक चरित्र प्रदर्शन गर्दै सिके राउतका कार्यकर्ताले जसरी पनि झडपको स्थिति उत्पन्न गर्न खोजेको थियो’ मन्त्री रायले पत्रकार सम्मेलनमा भने, ‘हाम्रा हजारौं नेता कार्यकर्तालाई जिस्क्याउँदै १५÷२० जनाको समूहले अनाहक तनाव सिर्जना गर्न खोजिरहेको बेला पनि हामीले हदैसम्मको संयता अपनाएर मुठभेड हुन नदिएको हो ।’ यति हुँदाहुँदै पनि मन्त्री यादवको आक्रोसलाई गलत प्रचारबाजी गरेर राउतका समर्थकले अनावश्यक वदनाम गर्न खोजेको रायको जिकिर छ ।
सुरुदेखि नै संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता विरुद्ध प्रस्तुत हुँदै आएका केपी ओलीका आर्थिक पृष्ठपोषणमा सिके राउतले स्वतन्त्र मधेश गठबन्धनको मुद्दालाई छाडेर मधेश प्रदेशमा वर्चस्वमा रहेको राजनीतिक दलसँग निहुँ खोजेर तनाव उत्पन्न गर्न खोजेको उनको आरोप हो । रायले भने, ‘राजनीतिक मैदानमा वैचारिक बहस र सैद्धान्तिक प्रतिस्पर्धा गर्न सबै दललाई स्वतन्त्रता छ । तर, कसैले खास राजनीतिक दललाई विवादमा पार्नकै लागि जुन हर्कत गर्दैछ यो जनताको बीचमा क्षम्य हुन सक्दैन ।’
राउतले किसान आन्दोलनको नाउँमा पनि आफ्नो निहित स्वार्थ सिद्ध गर्न रोटी सेक्ने काममा लागेको आरोप लगाए । विदेशी ब्राण्डको पहिरनमा ठाटिएर किसान आन्दोलनको नाउँमा राउतले समाजमा वितण्डा मच्चाउन खोजिरहेको उनको जिकिर हो । वास्तविक पीडित किसानको भावनालाई प्रदेश सरकारले सम्बोधन गरिरहेको र आम किसानको हितमा सकेसम्म काम गरिरहेको उनले दावी गरे ।
तपाईको प्रतिक्रिया !