सुरेश यादव
जनकपुरधाम – कोभिड १९ को प्रभावले थलिएको शिक्षा क्षेत्रलाई उकास्न धनुषामा स्थानीय युवाहरुलाई परिचालन गरी नयाँ अभ्यास गरिएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत प्रावि तहका बालबालिकाहरुको सिकाइ उपलब्धीमा सुधार ल्याउन यस्तो अभ्यास गरिएको हो ।
यस भेगमा सम्पूर्ण बालबालिकाहरुलाई अनिवार्य तथा गुणस्तरीय शिक्षा प्राप्तिका लागि दुई दशकदेखि काम गर्दै आएको आसमान नेपाल नामक एक गैरसरकारी संस्थाले धनुषाका चारवटा स्थानीय तहमा निक शिक्षा दिअ परियोजना सञ्चालन गरिरहेको छ । उक्त परियोजनाले कोभिडको कारण नियमित रुपमा विद्यालय जान नसकेका साना बालबालिकाहरुको सिकाइ उपलब्धीमा सुधार ल्याउन स्वयंसेवक परिचालन गरेको हो ।

लक्ष्मीनीयाँ गाउँपालिका, नगराइन नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र सबैला नगरपालिकामा सञ्चालित परियोजनाले तीन सय जना युवालाई स्वयंसेवकको रुपमा परिचालन गरेको छ । परियोजनाका प्रबन्धक दिलिप यादवका अनुसार लक्ष्मीनीयाँ गाउँपालिकामा ५५ जना, नगरपाइन नगरपालिकामा ६५ जना, गणेशमान चारनाथ नगरपालिकामा ७५ जना र सबैला नगरपालिकामा १०५ जना युवालाई स्वयंसेवकको रुपमा परिचालन गरिएको हो । एक जना स्वयंसेवकले आफ्नै छिमेकका १० जना बालबालिकाहरुलाई विद्यालय सञ्चालन हुने बाहेकको समयमा दैनिक अध्यापन गराइरहेका छन् ।
‘एक जना स्वयंसेवकले १५ जना बालबालिकाहरुको सर्भे गरेका थिए । ती मध्ये १० जनालाई पाँच पाँच जनाको समूह बनाएर प्रत्यक्ष रुपमा आफैले पढाउने र अन्य १५ जना बालबालिकाहरुलाई तिनीहरुका अभिभावकलाई घरमै शिक्षकको भूमिका निर्वाह गर्न अभिप्रेरित गरेर अप्रत्यक्ष रुपमा सिकाइ प्रक्रियासँग जोड्ने काम भएको छ’ परियोजना प्रबन्धक यादवले भने । उनका अनुसार चारवटै पालिकामा गरी कम्तीमा तीन हजार बालबालिकालाई प्रत्यक्ष रुपमा तथा करिब साढे चार हजार बालबालिकालाई अप्रत्यक्ष रुपमा स्वयंसेवक मार्फत सिकाइका अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको छ ।

कोभिड प्रभावित साना बालबालिकाहरुको सिकाई उपलब्धीमा सुधार ल्याउन परिचालित स्वयंसेवी युवाहरुलाई परियोजनाले सञ्चार खर्च वापत मासिक रुपमा जनही एक हजार रुपैयाँको दरले सहयोग गरेको छ । गत असार महिनादेखि परिचालित स्वयंसेवकहरुलाई मंसिर महिनासम्म (छ महिना) सञ्चार खर्च उपलब्ध गराइएको हो । अहिले परियोजनाको तर्फबाट सहयोग नपाएपनि करिब २५ प्रतिशत स्वयंसेवकहरुले सिकाइ केन्द्र यथावत रुपमा सञ्चालन गरिरहेको परियोजनाकी लक्ष्मीनीयाँ संयोजक रितु तिवारीले बताइन् ।
‘कोही कलेजको पढाइ सकेर जागिरको पर्खाइमा रहेका त कोही गाउँमै फुर्सदमा रहेकोबेला हामीसँग स्वयंसेवकको रुपमा काम गर्न जोडिनुभएका हुन्’ तिवारीले भनिन्, ‘सुरुमा हामीले साना बालबालिकाहरुलाई सिकाइका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न समान्य प्रशिक्षण दियौं, अहिले उहाँहरु (स्वयंसेवक) आफै अग्रसर भएर काम जारी राखेका छन् ।’ परियोजनाले सिमित अवधिसम्म सञ्चार खर्च उपलब्ध गराएपनि समाजप्रति जिम्मेवार युवाहरुले परियोजनाको तर्फबाट प्रत्यक्ष सहयोग नपाएपनि आफ्नो सामाजिक दायित्व बुझेर सिकाइ केन्द्र सञ्चालन गरिरहेको उनको भनाई हो ।

स्वयंसेवकहरुले सामुदायिक विद्यालयमा भर्ना रहेका भर्खर अक्षर चिन्न थालेका, शब्द चिन्न थालेका तथा वाक्य पढ्न सिक्दै गरेका बालबालिकाहरुलाई थप सिकाइ उपलब्धीका लागि अतिरिक्त क्रियाकलाप गराइरहेका छन् । कोभिडको त्रासले मनोवैज्ञानिक रुपले ग्रस्त बालबालिकाहरुलाई अक्षर, शब्द र वाक्य सिकाउनु बाहेक घर व्यवहार र प्रकृति बुझ्नेगरी अन्य क्रियाकलापहरु पनि गराइरहेका छन् ।
‘उदाहरणका लागि एक कक्षामा पढ्ने साना बालबालिकाहरुलाई हामीले घरमा काम नलाग्ने कुनै बट्टामा माटो र मल हालेर फुलको विरुवा हुर्काउन लगायौं । यी र यस्तै क्रियाकलापहरु गराउँदा बालबालिकाहरु पढाइप्रति आकर्षित हुनुका साथै अक्षर र व्यवहारिक ज्ञान सजिलै गरी सिक्न थाले’ तिवारीले अनुभव सुनाइन् ।
तपाईको प्रतिक्रिया !