जनकपुरधाम । मेयर रामउदगार गोइत एक महिनादेखि सम्पर्क वहीन हुँदा धनुषाको कमला नगरपालिकाको कामकाज प्रभावित बनेको छ । गएको एक महिनादेखि मेयर गोइत नगरपालिका कार्यालयमा नआएको एक जनप्रतिनिधिले बताए । मेयर नै कार्यालय नआउँदा कार्यपालिका बैठक लगायत विकास निर्माणको कार्यक्रमहरु समेत प्रभावित भएको ती जनप्रतिनिधिले बताए । प्रमुख प्रशासकीय अधिकृत सुबोध ठाकुर हाजिर भएदेखि उनी नगरपालिकामा आएका छैनन् । आफ्नो अनुकूलको निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा उनले विकास निर्माणको काम गराउदै आएका छन् । सामाजिक सुरक्षा भत्ता लगायत कामहरु पनि प्रभावित हुँदै आएपनि मेयर गोइतले नगरपालिकाको कार्यालय आउन नचाहेको स्थानीयले आरोप लगाए । उनको नीहित स्वार्थका कारण नगरपालिका नै असफल हुने अवस्थामा पुगेको एक जना वडाध्यक्षले आरोप लगाए । सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रिया अघि बढाउन खोज्दा मेयर गोइतले बुधबार बैंकलाई आर्थिक कारोबार रोक्न पत्राचार गरेका छन् । स्थानीय सरकार संचालन ऐनले आर्थिक कारोबार रोक्ने सम्बन्धी अधिकार मेयरलाई दिएको छैन् । अधिकार क्षेत्रबाट बाहिर गएर उनले बैंकलाई पत्राचार गर्दै आर्थिक कारोबार रोक्न भनेका छन् । उनी आफ्नो तलबभत्ता भने निकासा गराएका छन् । एक वडाध्यक्षका अनुसार आफ्नो तलबभत्ता बुझेर अन्य आर्थिक कारोबार गर्न नदिन बैंकलाई पत्राचार गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृतको रुपमा ठाकुर गएदेखि नगरपालिकाको कामकाजलाई अघि बढाएका छन् । तर, मेयर गोइतको असहयोगका कारण नगरबासीलाई सास्ती भएको छ । समयमा परिषद् समेत गर्न नसक्दा पटक पटक विवादित बन्दै आएका मेयर गोइत अघिल्लो पटक प्रमुख प्रशासकीय अधिकृतलाई लिएर विवादमा परेका हुन् । सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतमा ठाकुरलाई पठाएपछि उनी असन्तुष्ट बनेका हुन् ।
तपाईको प्रतिक्रिया !