नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधीले काँग्रेसले तीनै तहको चुनाव एक्लै लडने बताएका छन् ।
विहिवार जनकपुरमा काँग्रेसका प्रदेश २ का प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति निधीले वहुतको सरकारको लागि काँग्रेसले तीनै तहमा एक्लै चुनाव लडनुपर्ने बताए । संविधान र संघिय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न काँग्रेसलाई सरकारको नेतृत्व गर्नुपर्ने बताउदै उपसभापति निधीले भने,‘ यदि हामी अन्य पार्टीसँग चुनावमा सहकार्य गरेर गयौ भने काँग्रेसको सिट कम हुन जान्छ, यस्तोमा काँग्रेसले चुनावमा बहुमत ल्याउन सक्दैन, त्यसैले प्रतिनिधी सभाको १६५ सिट, प्रदेश सभाको ३३० सिट, पालिकाको ७५३ सिट र वडाको ६ हजार ७४३ वटै सिटमा काँग्रेसले एक्कै उम्मेदवारी दिनुपर्छ ।’
काँग्रेसको लागि मधेश उर्वराभुमि रहेको भन्दै उपसभापति निधीले भने,‘ तपाईहरु अहिलेदेखि नै चुनावको तयारी गर्नुस्, मधेशमा काँग्रेसले वहुमत ल्याएको खण्डमा मात्रै वहुमतको हाम्रो सरकार बन्छन, नत्र फेरि कुनै अन्य पार्टीसँग सहकार्य गर्नुपर्ने अवस्था आउछन् ।’
कम्युनिष्ट वा कथित मधेशवादी दलहरुले लामो संघर्षबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न नसक्ने दावि गर्दै निधीले भने,‘ नेपालको हरेक राजनीतिक परिर्वतनको अगुवाई काँग्रेसले गरेको छ, संघिय लोकतान्त्रिक व्यवस्थाको संस्थागत पनि काँग्रेसले मात्रै गर्न सक्छन् । त्यसकारण हामी अन्य पार्टीभन्दा काँग्रेस जनताप्रति बढी जवाफदेहि छौ ।’ पार्टीको १४ औ महाधिवेशन निर्वाचनको महाधिवेशन रहेकोले यो महाधिवेशनबाट पार्टीको कुनै निति तथा कार्यक्रम वा कुनै प्रस्ताव पास नहुने उपसभापति निधीले बताए ।
पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश २ का अधिवेशन संयोजक रमेश रिमालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा काँग्रेसका कोषाध्यक्ष सीता देवि यादव, पुर्व कोषध्यक्ष चित्रलेखा यादव, केन्द्रिय सदस्य आन्नद ढुङगना, महेन्द्र यादव लगायतकाले मन्तव राखेका थिए । काँग्रेसको प्रदेश अधिवेशनको ४ जना प्रदेश २ का अध्यक्षमा अकांक्षि रहेकोले प्रदेश अधिवेशन सर्वसहमत हुने सम्भावना कम रहेको छ । काँग्रेसका संसदीय दलका नेता तथा प्रदेश २ का भौतिक पुर्वाधार मन्त्री रामसरोज यादव, महोत्तरीका सभापति महेन्द्र कुमार यादव, रौतहटका सभापति कृष्णा यादव र सप्तरीका सभापति दिनेश यादव प्रदेश अध्यक्षमा उम्मेदवारी दिने चर्चा रहेको छ ।
तपाईको प्रतिक्रिया !