धनुषा – सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुर खानेपानी संस्थानका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाएर नगर घुमाएको छ। अबिरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले निमित प्रमुख कुशवाहालाई बिहीबार अर्धनग्न गरेर नगर घुमाएका हुन्। जनकपुरको रामानन्दचोकमा रहेको खानेपानी संस्थानको कार्यालयमा भाटासहित दर्जनौंको संख्यामा पुगेका जनमत पार्टीका नेता कार्यकर्ताहरुले कुशवाहालाई कार्यकक्षबाट तानेर कुटपिटसमेत गरेका थिए।
उनीहरुले निमित्त प्रमुख कुशवाहाको कपडा च्यातेर अर्धनग्न बनाइ नालामा रहेको हिलो दलेर जनकपुर घुमाएका हुन्। जनमत पार्टीका एक कार्यकर्ताले जनकपुरधाम उपमहानगरपालिका ८ बल्वाटोलमा सडक निर्माणका क्रममा ढल निकासको समस्याबारे निमित्त प्रमुख कुशवाहालाई पटक पटक आग्रह गर्दासमेत कुनै वास्ता नगरेपछि यस्तो कारबाही गरिएको बताए।
प्रहरीले सीके राउत नेतृत्वको जनमत पार्टीका १३ कार्यकर्तालाई पक्राउ गरेको छ । खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको अभियोगमा धनुषाका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
यसैबीच आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै अन्य नेता कार्यकर्ता जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन्
तपाईको प्रतिक्रिया !