धनुषा – सबैला नगरपालिकाले सूचनाको हकबाट बञ्चित गरेको भन्दै स्थानीय नागरिक बसेको रिले अनसनमा सर्वदलीय समर्थन प्राप्त भएको छ ।
गत असोज ४ गतेदेखि नगर परिसरमा जारी अनसनमा बुधबार सबै राजनीतिक दलले समर्थन जनाएको हो । अनसनकारीले आयोजना गरेको सर्वदलीय अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीय विभिन्न राजनीतिक दलमा आवद्ध नेताहरुले अनसन कार्यक्रमलाई जारी राख्नुपर्ने विचार व्यक्त गर्दै आफुहरु पनि सहभागी हुने प्रतिबद्धता जनाए ।
सबैला २ स्थित रामप्रसाद माविमा आयोजित अन्तरक्रिया कार्यक्रममा नगरका सबै वडा र टोलका प्रतिनिधि सहभागी भएका थिए । कार्यक्रमपछि सामुहिक रुपमा उनीहरु अनसनस्थलमा पुगेर समर्थन जनाए । भ्रष्टाचार विरुद्ध आवाज उठेको भन्दै यसमा आम नागरिकको सहभागिता आवश्यक रहेको नेकपा एमालेका स्थानीय नेता घनश्याम नायकले बताए । उनले आजको मितिसम्म नैतिक समर्थन जनाएकोमा भोलीदेखि अनसनमा भौतिक रुपमै सहभागी हुने प्रतिबद्धता व्यक्त गरे ।
एमालेका जिल्ला सचिव तेजनारायण यादव (तेजु) ले आफु नगरपालिकाको भ्रष्टाचार विरुद्ध सुरुदेखि नै आन्दोलनको पक्षमा प्रत्यक्ष सहभागी रहेको जानकारी गराउँदै सूचना सार्वजनिक नभएसम्म निरन्तर साथ दिने बताए । उनले गाउँ, टोल र वडाहरुबाट पनि जनसहभागिता जुटाउन स्थानीय राजनीतिक कार्यकर्ताहरुलाई आह्वान गरे ।
वैज्ञानिक समाजवादी पार्टीका नेता दिपनारायण दासले अनसन जारी राख्दै यतिमात्रले नसुने थप सशक्त कार्यक्रमहरु पनि आयोजना गर्नुपर्ने बताए । उनले गाउँ गाउँमा भ्रष्टाचार विरुद्ध टिम बनाएर जनतामा चेतना विस्तार गर्न सुझाव दिए । उनले भ्रष्टाचारीलाई कारवाही नभएसम्म आन्दोलन नरोक्न आग्रह गर्दै भ्रष्टाचारलाई निरुत्साहित गर्ने अभियानमा सबैजना पार्टी र वर्गभन्दा माथि उठेर सहयोग गर्नुपर्ने विचार राखे ।
एमालेका स्थानीय नेता रामनारायण महतोले आफु भौतिक रुपमा सहभागी हुन नसकेपनि आन्दोलन र अनसन जायज विषयका लागि भइरहेकोले नैतिक साथ र समर्थन दिने प्रतिबद्धता व्यक्त गरे । रघुनाथपुर व्यापार संघका अध्यक्ष विरेन्द्र साहले भ्रष्टाचारलाई निरुत्साहित गर्न सूचनाको हक कार्यान्वयन हुनुपर्ने बताए । सूचनाको हक विरुद्ध काम गर्ने छुट कुनै मेयर वा सरकारलाई नरहेको बताउँदै उनले अनसनकारीको माग पुरा नभएसम्म आफु साथ र समर्थन जनाइरहने प्रतिबद्धता व्यक्त गरे ।
जन्मभूमि विकास मञ्च, रघुनाथपुरका अध्यक्ष विनोद (विपिन) अधिकारीले सूचनाको हक कार्यान्वयन हुनुपर्नेमा आफु स्पष्ट रहेको बताउँदै सुरुदेखि नै यो अनसनप्रति एक्यवद्धता रहेको र निरन्तर सहयोग र सहभागिता रहने बताए । उनले स्थानीय युवा, खेलाडी र सचेत नागरिकहरुलाई पनि यो अनसनमा सहभागी हुन आह्वान गरे ।
जसपा भठिहनका नेता गौरी कापरले सबैलाका मेयर साविक भठिहन गाविसमा समेत भ्रष्टाचार गरेको उल्लेख गर्दै भ्रष्टाचार विरुद्धको आन्दोलनमा आफु पुर्ण समर्पित रहेको दावी गरे । उनले भ्रष्टाचार विरुद्ध सम्पूर्ण नगरबासीलाई साथ र समर्थन जनाउन आग्रह गर्दै यस्तो बेला आवाज नउठाए राजनीतिक स्वार्थका लागि भ्रष्टाचार विरुद्ध काम गर्ने प्रतिबद्धताको औचित्य नरहने जिकिर गरे ।
नेकपा माओवादी केन्द्रका नेता राजकुमार यादवले ३१ दिनसम्म अनसन बस्दा पनि नगरबासी जाग्न नसकेकोमा दु:ख व्यक्त गरे । बाहिर मञ्चमा भ्रष्टाचार विरुद्ध ठुला ठुला भाषण फलाक्ने नेताहरुलाई चुनौति दिँदै यादवले सबैला भ्रष्टाचार काण्ड विरुद्ध आन्दोलनमा समर्थन जनाउन हिम्मत गर्नुपर्ने सुझाए । उनले सहज ढंगले नसुने असहज वातावरण बन्न सक्ने चेतावनी समेत दिए ।
स्थानीय युवाहरु प्रकाश मिश्र र देवनारायण यादवले ३१ दिनसम्म शान्तिपुर्ण अनसन बस्दा सुनुवाई नभएको भन्दै अब उग्र आन्दोलनमा जानुपर्ने धारणा राखे । उनीहरुले आन्दोलन उग्र बनाउनु अघि जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत जानकारी गराउनुपर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा सबैला नगरपालिकाका विभिन्न वडा र टोलबाट विभिन्न राजनीतिक दलमा आवद्ध ८१ जना सहभागी भएका थिए । पत्रकार सुरेश यादवको संयोजकत्वमा रहेको भ्रष्टाचार विरुद्ध संयुक्त संघर्ष समितिले कार्यक्रमको आयोजना गरेको थियो । सुरेशसँगै रामबहादुर साह, विक्रम यादव, विजय साह, सिकिन्द्रसिंह यादव, मिथिला साह, प्रकाश यादव, जितेन्द्र मुखिया लगायत अनसनमा पूर्णकालिन सहभागी छन् ।
तपाईको प्रतिक्रिया !