उज्वेकिस्तान- तालिवान समूहले देशका २४ राज्यलाई आफ्नो नियन्त्रणमा लिएको बताइरहँदा अफगानिस्तानको सिमा क्षेत्रमा तैनाद् ८४ अफगान सैनिकले अफगान–उज्वेकिस्तान सीमा पार गरी स्थानीय प्रशासनसमक्ष सहयोग मागेका उज्वेकिस्तानको विदेश मन्त्रालयले आइतबार जानकारी गराएको छ ।
“अगस्त १४ मा ८४ जना अफगान सरकारी सैनिकको एउटा समूहले सीमा पार गरको र उनीहरूलाई राज्य सुरक्षा सेवाका सीमा फौजका एकाइहरूद्वारा पक्राउ गरिएको बताइएको छ ।
सीमा उल्लङ्घन गरी उज्वेकिस्तान पुगेका अफगान सैनिकलाई पक्राउ गर्दा उनीहरूबाट कुनै प्रतिरोध नभएको मन्त्रालयले बताएको छ । उनीहरूमध्ये तीन सिपाही घाइते रहेका र उनीहरूलाई उपचारको व्यवस्था गरिएको रूसी सञ्चार संस्था स्पुत्निकले मन्त्रालयलका अधिकारीलाई उद्धृत गरी समाचार लेखेको छ ।
सिपाहीहरूलाई उज्वेकिस्तान सरकारद्वारा चिकित्सा सहायता, खाना र अस्थायी आश्रय दिएको बताइएको छ ।
रूसी समाचार संस्थाका अनुसार अफगानिस्तानको उत्तरमा रहेको एक मात्र प्रान्त बल्खको राजधानी बल्ख तालिबानको नियन्त्रणमा आएपछि देशकोे सम्पूर्ण उत्तरी क्षेत्र लडाकूहरूको नियन्त्रणमा आएको छ ।
तालिबानले अफगानिस्तानको चौथो ठूलो शहर मजार–आई–शरिफलाई आफ्नो नियन्त्रणमा लिएपछि उत्तरमा सरकारको नियन्त्रण गुमेको हो । खामा प्रेसका अनुसार मार्शल अब्दुल राशिद डोस्टम र “प्रमुख ‘जिहाद नेता’ अट्टा मुहम्मद नूरको प्रभाव क्षेत्र रहेको मजार–आई–शरिफ आफ्ना लडाकू र छोराहरूसँगै उज्बेकिस्तान भागेपछि उक्त क्षेत्रमा सरकार कमजोर भएको मानिएको थियो । अट्टा नूरले मजार–ए–शरीफमा सैनिक पतन एउटा षड्यन्त्र भएको र यसको उद्देश्य आफैलाई पक्राउ गरी आफू र मार्शल डोस्टमलाई आत्मसमर्पण गराउनु रहेको दावी उज्वेकिस्तानबाट गर्नुभएको छ ।
यसैबीच तालिवानले प्रान्तीय कार्यालय, प्रहरी मुख्यालय; राष्ट्रिय सुरक्षा निर्देशनालय (एनडिएस) स्थानीय कार्यालय र २०९ औँ शाहीन चिहान क्षेत्र आफ्नो लडाकूको कब्जामा आएको दाबी गरेको छ ।
विदेशी सेनाको पूर्ण फिर्ता भएको केही हप्ताभित्रै तालिबानले अफगान सेना र नागरिकहरू विरुद्ध आफ्नो आक्रामक हमलालाई तीव्र बनाउँदा अफगानिस्तानमा हिंसाग्रस्त अवस्था देखिरहेको छ । तालिबान समूह अहिले देशको केन्द्रीय राजधानी काबुल नजिकै पुगिसकेको छ ।
अफगानिस्तान योजना नपछ्याएको अमेरिकी राष्ट्रपति बाइडेनविरूद्ध ट्रम्पको आरोप
अमेरिकी राष्ट्रपति बाइडेनविरूद्ध पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबारे आफूलाई नपछ्याउँदा जो बाइडेन प्रशासन चुक्न पुगेको धारणा राख्नुभएको छ ।
अमेरिकी नेतृत्वमा रहेका अन्तर्राष्ट्रिय सेनालाई युद्धग्रस्त देशबाट निकाल्ने आफ्नो योजनालाई बाइडेनले नपछ्याएकाले र अफगानिस्तानको अवस्था सम्हाल्न समस्या भएको डिमोक्र्याटिक नेता बाइडेनविरूद्ध ट्रम्पले आरोप लगाउनुभएको हो ।
अमेरिकी समय अनुसार शनिबार जारी गरिएको विज्ञप्तिमा ट्रम्पले भन्नुभयो, “हाम्रो प्रशासनले नयाँ सरकारका लागि छोडेको योजना पछ्याउनुको सट्टा उहाँ अफगानिस्तानबाट बाहिर निस्किनुभयो ।
हाम्रो योजनाले अमेरिकी जनता र सम्पत्तिको सुरक्षा गर्यो र तालिबानले कहिल्यै पनि अमेरिकी दूतावास लिने वा अमेरिकाविरुद्ध नयाँ आक्रमणका लागि आधार प्रदान गर्ने सपना देख्ने छैन भन्ने सुनिश्चित गरेको थियो । त्यो फिर्ता अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता गर्ने तथ्यद्वारा निर्देशित थियो ।”
अमेरिकी रिपलिकन नेता ट्रम्पले भन्नुभयो, “मैले आइएसआइएसलाई पराजित गरेपछि एउटा भरपर्दो रोकथाम गर्ने सोच बनाएँ । त्यो रोकथामको उपाय अहिले प्रभाबहीन बनेको छ । तालिबानलाई अब अमेरिका वा अमेरिकाको शक्तिप्रति डर वा सम्मान छैन ।”
काबुलमा रहेको अमेरिकाको दूतावासमाथि तालिबानले झण्डा उठाउँदा अपमान हुने उहाँले बताउनुभयो । “कमजोरी, अक्षमता र पूर्ण रणनीतिक असमझदारीका कारण यो पूर्ण असफल हुनेछ ।”
काबुलबाहेक सबै प्रमुख शहरहरूमा तालिबानले कब्जा गरेको दावी गरिरहँदा शनिबार बाइडेनले अफगानिस्तानमा थप एक हजार सेनाको तैनादी गर्ने अधिकारमा हस्ताक्षर गर्नुभएको थियो ।
यसले गर्दा युद्धग्रस्त देशमा अमेरिकी सेनाको संख्या पाँच हजार पुगेको छ । बाइडेनको यो निर्णय आफ्ना कर्मचारीहरूलाई सुरक्षित र व्यवस्थित ढंगले स्वदेश फिर्ता गर्न सुनिश्चित गर्नु मात्रै रहेको छ ।
तपाईको प्रतिक्रिया !