महोत्तरीको महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखामा लुट्न लुटेराहरु बैंक छिर्दा बैंकका गार्ड पिसाब फेर्न गएको खुलेको छ।
महोत्तरी गाँउपालिका-२ को महोत्तरी बजारमा रहेको यो शाखा लुट्न हातमा पेस्तोल बोकेर चार जनाको समूह बैंक छिरेको थियो।
इलाका प्रहरी कार्यालय महोत्तरीका सई विरेन्द्र प्रसाद यादवले दिएको जानकारी अनुसार प्रारम्भिक अनुसन्धान अनुसार बैंक बाट ३५ लाख रुपैयाँ नगद लुटिएको छ।
उनका अनुसार गार्ड पिसाब फेर्न गएको मौकामा प्रवेश गरेका लुटेराले सुरुमा बैंकको चेनगेट लगाएर बैंकलाई आफ्नो नियन्त्रणमा लिएका थिए। उनीहरु बैंक पस्दा त्यहाँ १०-१५ जनाको संख्यामा सेवाग्राही उपस्थित थिए।
घटनाको भिडियो सार्वजनिक भएको छ। भिडियोमा ग्राहकलाई एक ठाउँमा उभाएर उनीहरू काउन्टरभित्र प्रवेश गरेको देखिन्छ। लुटेरामध्येका एक लुटेराले ग्राहककै कपडा लिएर काउन्टरमा प्रवेश गरेको देखिन्छ।
केहीबेरमा त्यही कपडामा पैसा पोको पारेर ल्याएको देखिएको छ।
लुटेरा समूहले चेनगेट लगाएर भित्र पसेपछि बैंकको काउन्टरमा रहेका कर्मचारीलाई नियन्त्रणमा लिदैं त्यहाँ रहेको करिब ३५ लाख रुपैयाँ रकम लुटेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
रकम लुटेपछि उनीहरु दुईबटा मोटरसाईकलमा दुईतीर भागेको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन्।
लुटपाट पछि ४ जना लुटेराहरुमध्ये दुई जना पर्सा तिर र दुई जना प्रकौली तिर भागेका थिए। बैंकबाट लगभग ७०० मिटरको दूरीमा प्रहरी चौकी छ ।
तपाईको प्रतिक्रिया !